अब पनि भीडमा रमाउने कि एक्लै दौडने प्रियंका ?

२९ साउन २०७९ ६:४६

नायिका प्रियंका कार्कीले चलचित्र ‘फूलबारी’बाट करिअरको दोश्रो प्रहर सुरु गर्दैछिन् । बैबाहिक जीवनमा बाधिएर आमा बनेपछि प्रियंका कार्की केही बर्ष चलचित्र क्षेत्रमा व्यस्त बनिन् । कुनै समय एक दिन घरमा बस्नुपर्दा पनि छटपटिने प्रियंकाका लागि फेरि सोही दिन फर्काउन चुनौतीपूर्ण त छ नै ।

तर, पनि प्रियंका मिहिनेत भने गरिरहेकी छिन् । छोरी जन्माएपछि बढेको शरीरको तौल उनले सहजै घटाइन् । चलचित्रमा फर्किनका लागि उनले गरेको मिहिनेत अरु नायिकाका लागि पनि प्रेरणा दिने खालको नै छ । तर, अब पनि प्रियंकाले भीडभाडमा हराउने चलचित्रमा नै रमाउने हो त ?

रामबाबु गुरुङको निर्देशनमा बन्न लागेको चलचित्र ‘फूलबारी’मा दयाहाङ राई, विपिन कार्की, मिरुना मगर, श्रृजना सुब्बा लगायतका कलाकार छन् ।

यही भिडमा प्रियंका पनि मिसिएकी छिन् । उनको भूमिका के छ भन्ने खुलेको छैन । तर, प्रियंकाले दया र विपिनको स्टारडमका विचमा रहेर चलचित्रमा आफूलाई उभ्याउन खोजेकी छिन् ।

प्रियंकाले करिअरको दोश्रो इनिङ सुरु गर्दै गर्दा अब आफूलाई फरक तरिकाले उभ्याउन जरुरी छ । प्रियंकाले अब महिला केन्द्रित चलचित्रमा काम गर्नुपर्छ, जसरी अहिलेदेखि नै स्वस्तिमा खड्का, सुरक्षा पन्त लगायतका नायिकाले काम गरिरहेका छन् ।

दर्शकले प्रियंकाबाट अब भीडको चलचित्र होइन, केही न केही फरक अभिनयको स्वाद खोज्नेछन् । के प्रियंकाले त्यो बाटो समात्लिन् त ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *