बक्स अफिस प्रिभ्यूः उत्कृष्ट समीक्षामा भर पर्नेछ ‘पानी फोटो’को व्यापार

११ साउन २०७९ १३:४६

जेठ १३ बाट रिलिज भएको चलचित्र ‘कबड्डी ४’ले बक्स अफिसमा बम्पर व्यापार गरिरहँदा त्यसपछि रिलिज भएका चलचित्रले सुखद कमाई गर्न सकेका छैनन् । यसैले, शुक्रबार अर्थात साउनको १३ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘पानी फोटो’ माथि आम दर्शक र चलचित्रकर्मीको नजर परेको छ । बक्स अफिसमा चलचित्रको व्यापार सिथिल बनेको समयमा यो चलचित्रले केही राहत दिन्छ कि भन्ने आशा आम चलचित्रकर्मीमा छ ।

खगेन्द्र लामिछाने निर्देशित यो चलचित्रले माओवादी जनयुद्धको समयमा वेपत्ता भएको छोराको पर्खाइमा बसेका बाबु र आमाको कथा भन्छ । यसअगाडि यस्तै कथा भनिएको ‘दोख’ र अर्गानिक कथामा बनेको ‘चिसो मान्छे’ले व्यापार नगरेको कारणले पनि ‘पानी फोटो’को इनिसियल व्यापारमा शंका गर्ने ठाउँ छ ।

यो चलचित्रले राम्रो व्यापार गर्नका लागि यसको वर्ड अफ माउथमै भर पर्नुपर्ने देखिन्छ । मल्टिप्लेक्समा यो चलचित्रमाथि प्रदर्शकको विश्वास केही हदसम्म छ । तर, दर्शकसम्म चलचित्रको प्रचार गर्नमा निर्माणपक्षले ठूलै कञ्जुस्याँई गरेका कारण पनि चलचित्रको बारेमा ठूलो संख्याका दर्शकलाई थाहा छैन ।

चलचित्रले पहिलो दिन ठूलो अंकगणितिय व्यापार गर्ने संभावना छैन । चलचित्रले २ डिजिटको कमाई गरेपनि त्यो लोभलाग्दो हुने कुरामा शंका व्यक्त गर्न सकिन्छ ।

तर, खगेन्द्र लामिछाने, मेनुका प्रधान, अनुप बराल, मलिका महत अभिनित यो चलचित्रले राम्रो समीक्षा पाएको खण्डमा शनिबार व्यापारमा केही राहत हुनेछ । तर, चलचित्रलाई एक बलिउड र एक साउथ चलचित्रको चुनौती पनि यथावत् नै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *