गीतसंगीतमा अब्बल ‘कृष्णलीला’, ‘ए मेरो हजुर’ टिकटकमा भाइरल

११ साउन २०७९ ८:३२

चलचित्रको व्यापार बम्पर गर्नमा गीतसंगीतको पनि महत्वपूर्ण भूमिका हुन्छ । गीत राम्रो भएको खण्डमा दर्शक हलसम्म पुग्छन् । भदौको ३ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘कृष्णलीला’को गीतसंगीतले यतिबेला सामाजिक संजालमा दर्शकको साथ पाइरहेको छ ।

पहिलो गीत ‘कुनै दिन त्यो कथामा’ले दर्शकको साथ पाएपछि सार्वजनिक भएको ‘ए मेरो हजुर’ बोलको गीतले पनि दर्शकको उच्च साथ पाएको छ । यो गीतको सानो सानो अंशको टिकटक ४ लाख भन्दा बढी बनेको छ । जसलेगर्दा, गीतले चलचित्रको व्यापारमा फाइदा गर्नेमा निर्माता विश्वस्त छन् ।

दोश्रो गीत ‘ए मेरो हजुर’को भिडियोलाई माइकल चन्दले निर्देशन गरेका हुन् । माइकलले चलचित्रको गीतको पहिलो कोरियोग्राफीमा नै आफूलाई बलियो रुपमा प्रस्तुत गरेका छन् । चलचित्रका मुख्य कलाकार पुष्प खड्का र श्रद्धा क्षेत्रीले अभिनय गरेको यो गीतलाई टिकटकमा रुचाइएपछि हलमा पनि यसले दर्शक तान्ने आशा गर्न सकिन्छ ।

चलचित्रको बिषयवस्तु समेत फरक रहेकाले दर्शकले मन पराउने विश्वास निर्देशक दिपक वलीको छ । चलचित्र ‘कृष्णलीला’ले पुष्प र श्रद्धा फरक खालको प्रेमलाई प्रस्तुत गरेको छ । गीतका कोरियोग्राफर माइकल चन्दले दर्शकले गीत र भिडियोलाई मन पराएकाले आफूलाई काम गर्ने अझै आशा पलाएको बताए । यो गीतमा बाबुल गिरीको संगीत, रवि ओड र सुनित कार्कीको स्वर, डाक्टर डी आर उपाध्यायको शब्द छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *