भुवनको नेतृत्वमा २ बर्षभित्र कस्तो बन्ला बोर्ड ?

१० साउन २०७९ १२:१२

हुनत, चलचित्र विकास बोर्डमा कुनै पनि राजनीतिक दलका कार्यकर्ता अध्यक्षको रुपमा पुग्दा आशा भन्दा बढी निराशा नै हुन्छ । कुनै राजनीतिक दलले आफ्नो सरकार रहेको समयमा आफ्ना कार्यकर्तालाई भर्ती गर्ने केन्द्रको रुपमा बोर्डलाई पनि प्रयोग गर्दै आएको छ । संचार मन्त्रालयको एउटा कार्यलय जस्तो बनेको विकास बोर्ड स्वायत्त हुनुपर्ने माग लामो समयदेखि चल्दै आएको छ ।

चलचित्र विकास बोर्डमा २ बर्ष कार्यकाल सम्हालेका निर्देशक दयाराम दाहालले बोर्डसँग अधिकार नै धेरै कुरामा नभएको बारम्बार बताउँदै आएका थिए । कोभिडको समयमा चलचित्रकर्मीका लागि राहत उपलब्ध गराउँदा बल्ल उनले बोर्डको अधिकार र दायरा थाहा पाए । यसैले, चलचित्र विकास बोर्डबाट चलचित्रकर्मीले ठूलो अपेक्षा नराख्दा राम्रो हुन्छ ।

अर्कोतिर, चलचित्र क्षेत्र वुझेको र चलचित्रकर्मीलाई नजिकबाट नियालेको व्यक्ति बोर्डमा नपुग्दा चलचित्र क्षेत्रको समस्या समाधान नभएको गुनासो नसुनिएको होइन । नेपाल सरकारले, केही महिना अगाडि मात्र नेपाली कांग्रेस पार्टीमा प्रवेश गरेका नायक भुवन केसीलाई चलचित्र विकास बोर्डको नेतृत्व २ बर्षका लागि सुम्पिएको छ ।

भलै, कांग्रेस पार्टीमा प्रवेश गरेर नेपाली चलचित्रका सर्वाधिक सफल नायकले बोर्डको नेतृत्व सम्हाल्ने अवसर पाएका छन् । तर, उनीबाट आशा र अपेक्षा गर्ने ठाउँहरु केही छन् ।

विकास बोर्डमा पुगेर भुवनले ठूलो परिवर्तन गर्न आवश्यक छैन । किनकी, उनको हातमा त्यती ठूलो परिवर्तन गर्न सक्ने अधिकार पनि छैन । तर, चलचित्रकर्मीका साना–साना समस्यामा उनले ध्यान दिएको खण्डमा उनको कार्यकाल स्मरणीय रहनेछ ।

अर्कोतिर, संचार मन्त्रालयका सचिव र मन्त्रीलाई चलचित्र क्षेत्रका विभिन्न मागमा उनले घच्घच्याउन सकेको खण्डमा त्यसले केही न केही नतिजा दिने पक्का छ । भुवन केसीले चलचित्र क्षेत्रका हरेक विधामा काम गर्ने चलचित्रकर्मीको समस्या देखेका छन्, कतिपय आफूले नै भोगेका छन् ।

नेपाली चलचित्रले भोग्दै आएका समस्या, विदेशी चलचित्रलाई सिस्टममा रिलिज गर्न नसक्दा देखिने गरेका समस्यामा उनी जानकार छन् । चलचित्रकर्मीलाई नेपाल सरकारले दिन सक्ने सुविधाबाट पनि बन्चित गरेको उनलाई राम्रोसँग थाहा छ । चलचित्र निर्माणमा राज्यले कुनै पनि सहुलियत नदिएका बिषयमा उनी राम्रैसँग जानकार छन् । अनेर्कौ समस्याको चुलीका विच भुवन केसी बोर्डको अध्यक्ष बनेका छन् ।

बारम्बारको कोशिशमा बोर्ड अध्यक्ष भएका भुवनले विभिन्न समयमा भन्दै आएको अर्को कुरा नेपाली चलचित्र क्षेत्रलाई अन्तरराष्ट्रिय बजारमा पुर्याउनु पनि हो ।

भुवन केसीलाई चलचित्र क्षेत्रका समस्याको बारेमा हामी अन्य लेखमा पनि जानकारी दिदै जानेछौं । तर, अहिलेलाई समस्या नै समस्याले झेलिएको चलचित्र क्षेत्रको सर्वोच्च सरकारी निकायको नेतृत्व २ बर्षलाई सम्हाल्दै गर्दा भुवन केसीले आफूलाई परिपक्क नायकको उदाहरण दिन आवश्यक छ ।

भुवन केसीले हिजोका दिनसम्म गरेका केही गल्तीहरुलाई अब छुट हुने छैन । भुवन केसीको नेतृत्वमा विकास बोर्ड गर्व गर्न लायक बनोस्, हाम्रो शुभकामना ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *