प्रदीप खड्काको ‘प्रकाश’बाट नयाँ जन्म

४ साउन २०७९ १५:२०

नायक प्रदीप खड्काले आजसम्म जति पनि चलचित्रमा काम गरे, सबैमा उनी चकलेटी हिरोको रुपमा देखिए । सयौं यूवतीहरु उनको चकलेटी अनुहारको फ्यान छन् । उनले, चलचित्रमा अभिनय पनि देखाएका छन् । तर, उनको अभिनय भन्दा बढी चर्चा त अनुहारकै भयो ।

तर, चलचित्र ‘प्रकाश’मा प्रदीपको चकलेटी अनुहारले दर्शक हलमा तान्ने छैन । यसका लागि उनको अनुहार भन्दा अभिनय बलियो हुनुपर्छ । यसअर्थमा, प्रदीप आफ्नो यो नयाँ जन्म भएको मान्छन् । हुनपनि, प्रदीप आफ्नो करिअरमा नयाँ अनुभव बटुलिरहेका छन् । यदि, उनलाई दर्शकले यो भूमिकामा स्विकार गरे भने उनको करिअर नयाँ यात्रामा अगाडि बढ्नेछ ।

‘प्रकाश’ रिलिज भएको एक महिनामै उनी अभिनित चलचित्र ‘प्रेमगीत ३’ रिलिज हुँदैछ । जुन, उनले गर्दै आएको फर्मुला चलचित्र हो ।

व्यापारिक रुपमा प्रदीप यो चलचित्रले ‘कबड्डी ४’को रेकर्ड तोड्नेमा आशावादी छन् । तर, चलचित्र क्षेत्रमा स्टार भैसकेपछि प्रदीप आफूलाई ‘प्रकाश’ले नयाँ जन्म दिएको तर्क गरिरहेका छन् ।

नेपाली चलचित्रका केही नायकहरु चकलेटी अनुहारलाई दर्शकले रुचाइरहेको समयमा जोखिम मोल्ने सुरसारमा छैनन् । तर, यसपटक प्रदीपले त्यस्तो एउटा जोखिम मोलेका छन् जसले उनलाई जुनसुकै स्थानमा पनि पुर्याउन सक्छ ।

हुनत, कलाकार भैसकेपछि जोखिम मोलेन भने अर्थ हुँदैन भनिन्छ । नायक खड्काको नयाँ जन्म सफल हुन्छ या हुँदैन, भदौ १० मा थाहा हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *