पूरा शरीर जाँच गर्दा मुटुमा प्वाल परेको थाहा पाएका थिए सुनिलले…

३२ असार २०७९ १०:०५

निर्माता सुनिल कुमार थापाको केही दिन अगाडि मात्र ओपन हर्ट सर्जरी भयो । डाक्टर भगवान कोइराला र उनको टिमले सुनिलको मुटुमा परेको प्वालको सफलतापूर्वक सर्जरी गरेको हो । निर्माता थापालाई भोली मात्र अस्पतालबाट डिस्चार्ज गरिनेछ । चलचित्र ‘ए मेरो हजुर ४’को नेपाल रिलिजपश्चात अमेरिका पुगेर फर्किएपछि सुनिलले ओपन हार्ट सर्जरी गरेका हुन् ।

सुनिलको मुटुमा सानैदेखि प्वाल थियो । चिनियाँ डाक्टरले हेर्दा उनको मुटुमा प्वाल परेको देखिएको थियो र ठूलो भएपछि आफै पुरिने बताएका थिए ।

यसपछि, सुनिललाई मुटुमा प्वाल परेको बिषयमा खासै चासो पनि भएन । उनी ५० बर्ष लाग्दैछन् । घर नजिकै रहेका अस्पतालमा ‘होल बडी चेकअप’ गर्न जाँदा उनको मुटुको आकार ठूलो देखियो । यसपछि, उक्त अस्पतालका डाक्टरले मुटुका डाक्टरलाई देखाउन आग्रह गरे ।

मुटुका डाक्टरलाई देखाउँदा उनको मुटुमा प्वाल परेको देखियो । मुटुमा प्वाल हुँदा भित्रै भित्र रगत बग्ने समस्या हुने भएकाले पनि तत्काल अप्रेशन गर्नुपर्ने सुझाव डाक्टरले दिए । यसपछि, सुनिललाई दिल्ली लिएर जान झरना थापा तयार भइन् । तर, नेपालमै यसको सफलतापूर्वक अप्रेशन हुने वुझेपछि उनीहरुले डाक्टर भगवान् कोइरालालाई भेटे । कोइरालाको समय लिएर उनको केही दिन अगाडि मात्र अप्रेशन गरिएको हो ।

अहिले सुनिलको स्वास्थ्य अवस्था सामान्य रहेको निर्देशक झरना थापाले जानकारी दिएकी छिन् । सुनिल, झरना र नायिका सुहाना थापा अमेरिका र क्यानडाको भ्रमण सकेर नेपाल फर्किए लगतै चलचित्र ‘भागवत गीता’को छायांकन गर्ने तयारीमा थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *