जुम्लामा खिचिएको भन्दैमा ‘प्रकाश’लाई व्यवसायिक फिल्म होइन भन्न मिल्दैनः प्रदीप खड्का

३१ असार २०७९ १५:२९

नायक प्रदीप खड्काले भदौ १० गतेबाट रिलिज हुन लागेको चलचित्र ‘प्रकाश’ नेपाली माटोको कथा बोकेको व्यवसायिक चलचित्र भएको दाबी गरेका छन् । आज चितवनमा आयोजना भएको पत्रकार सम्मेलनमा बोल्दै उनले चलचित्र व्यवसायिक भएको दाबी गरे ।

चलचित्रका लेखक विकास सुवेदीको साथमा चितवन पुगेका प्रदीपले जुम्ला जस्तो बिकट गाउँको कथा उठाएको भन्दैमा चलचित्रलाई व्यवसायिक नभएको भन्न नमिल्ने बताए । यस्तै, चलचित्रका लेखक विकास सुवेदीले यो चलचित्र सबैको साझा कथा भएको समेत तर्क गरेका छन् । उनले, जुम्लाको एक विपन्न यूवाले सरकारी शिक्षकको जागिर खानका लागि संघर्ष गरेको कथा चलचित्रमा देखाइएपनि यो सबै नेपाली यूवाहरुको समस्या भएको जिकिर गरे ।

पत्रकार सम्मेलनमा आफू कम्फर्ट जोनबाट बाहिर निस्किर काम गरेको नायक प्रदीपको तर्क थियो । उनले, यो चलचित्रमा आफू कलाकार बन्ने प्रयास गरेको समेत सुनाए ।

उनले भने–‘चलचित्रको कथा के हो ? केही पनि थाहा थिएन । यसको वान लाइन कथा सुनेरै म काम गर्न तयार भएँ । एउटा विद्रोह भयो, द्धन्द्ध भयो । त्यसले एउटा व्यवस्था लिएर आयो । त्यसमा यस्ता कमी कमजोरी छन् जसले अर्को विद्रोह निम्त्याउन सक्छ भन्ने लाइनले म काम गर्न तयार भएको हुँ ।’ प्रदीपले यो चलचित्र आफ्ना लागि निक्कै चुनौतीपूर्ण भएपनि यसलाई अवसरको रुपमा लिएर काम गरेको बताए ।

महेन्द्र अधिकारीको लगानीमा तयार भएको चलचित्रलाई दिनेश राउतले निर्देशन गरेका हुन् । चलचित्रमा प्रदीपसँगै दिया मास्के, प्रकाश घिमिरे, राजन खतिवडा लगायतका कलाकारको अभिनय छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *