कसको आँखा लाग्यो ‘प्रसाद २’माथि ?

३० असार २०७९ १०:१४

अब, त चलचित्र ‘प्रसाद २’को छायांकन हुन्छ भन्नेमा सबै जना विश्वस्त थिए । काठमाडौंको एक होटलमा पत्रकार सम्मेलन नै गरेर चलचित्रको घोषणा भएपछि, धेरैलाई लागेको थियो अब यो चलचित्रले लफडा भोग्दैन ।

दिनेश राउतले सिक्वेलको निर्देशन नगर्ने भनेपछि सौरभ चौधरीलाई लिएर निर्माता सुभाष थापाले यसको काम अगाडि बढाए । चलचित्रको छायांकनका लागि तयारी भैरहेको समयमा कोरोनाले अल्झायो । कोरोनालाई पनि छिचोल्दै अगाडि बढेको टिम अन्ततः निर्देशक नै परिवर्तन गर्ने मुडमा गयो । सौरभको ठाउँमा निर्देशक सुदर्शन थापाले चलचित्रको निर्देशकिय पाटो सम्हाले । लेखक सुशिल पौडेलसँग बसेर कथा कोरे ।

चलचित्रबाट कलाकार निश्चल बस्नेत बाहिरिए । उनको ठाउँमा अर्पण थापा अनुबन्धित भए । सबै कुरा मिलेको थियो । चलचित्रको छायांकनका लागि भन्दै २ साता अगाडि यसको टिम ल्वाङ पुग्यो । कलाकारहरुले बस्ती घुमेको, भाषा सिकेको तस्वीहरु सार्वजनिक गरिरहेका थिए ।

तर, बुधबार चलचित्रको छायांकन सुरु गर्ने भन्दै लाइट मिलाएर क्यामेरा अन गर्दा कलाकार विपिन कार्की असहज भैदिए । नम्रताले पनि आज भैरहेको कलाकार रेमनदास श्रेष्ठको बिहेमा जानुपर्ने बताउन थालिन् । अन्ततः यो चलचित्रको छायांकन फेरि रोकिएको छ । अब, यो चलचित्र कसरी बन्छ केही भन्न सकिने अवस्था छैन ।

हाम्रो सिनेमालाई श्रोतले दिएको जानकारी अनुसार नायक विपिन कार्कीले चलचित्रका लागि अनेक लफडा निकालेका थिए । उनले, चलचित्रका लागि स्टोरी बोर्डको समेत माग गर्न थालेका थिए । कलाकार २ सातासम्म पनि तयार नभएपछि निर्माता केशव पाण्डे पनि आजित भए ।

अन्ततः निर्देशक सुदर्शन थापाले चलचित्र निर्देशन गर्न नसक्ने बताए । निर्माताले पनि आफू यस्तो अवस्थामा लगानी गर्न तयार नभएको तर्क गरे । उनले, आफूले चलचित्रको बिषयमा कानुनी कुराहरु पनि मिलाउन बाँकी छ भन्दै अहिले नै काम अगाडि नबढाउने बताए । यसपछि, यसको टिम काठमाडौं फर्किएको छ ।

छायांकनका लागि २ साता ल्वाङमा बस्दा निर्माताले ठूलै रकम घाटा ब्यहोर्नु परेको छ । केशव नयाँ निर्माता हुन् । नयाँ निर्माताले उत्साहका साथ चलचित्र निर्माण गर्ने जोश बोक्दा कलाकारबाट भएका यस्तो व्यवहारले उनलाई निराश पक्कै बनाएको छ । अब त बन्छ कि भनिएको ‘प्रसाद २’माथि खै फेरि कसको आँखा लाग्यो ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *