‘जेरी २’ साइन गरेपछि अनमोल भन्छन्–‘भगवान्ले दिएपछि, पुग्ने गरि दिन्छन्’

२० असार २०७९ १५:००

नायिका पूजा शर्माको निर्माणमा बन्ने चलचित्र साइन गरेको केही दिनपछि नै नायक अनमोल केसीले अर्को नयाँ चलचित्र साइन गरेका छन् । आफ्नो हिट चलचित्र ‘जेरी’ सिरिज अनमोलले साइन गरेका हुन् । ‘जेरी’ अनमोलको करिअरको दोश्रो हिट चलचित्र थियो ।

यो चलचित्रलाई हेमराज वीसीले नै निर्देशन गर्नेछन् । अनमोलले चलचित्र साइन गरेपछि हाम्रो सिनेमासँग भने–‘जेरीको सिरिज धेरै दर्शकले प्रतिक्षा गर्नुभएको थियो । यसपटक, चलचित्रको कथा धेरै नै फरक छ । यसैले, काम गरेको हुँ ।’
केही दिनमै ३ वटा चलचित्र साइन गर्नुभयो त भन्ने प्रश्नमा उनले भने–‘मैले सधै नै राम्रो चलचित्र आएको खण्डमा काम गर्छु भनेको छु । यसपटक मैले साइन गरेका चलचित्रका मेकर र कथावस्तु चित्तवुझ्दो छ । कहिलेकाही भगवान्ले दिएपछि पुग्ने गरि दिन्छन् भनेको यही होला ।’

यो चलचित्रलाई निर्माता सरोज न्यौपाने र राम श्रेष्ठले मिलेर बनाउँदैछन् । चलचित्रको छायांकन अर्को बर्षबाट सुरु हुने नायक अनमोल केसीले बताए । ‘ए मेरो हजुर ४’ रिलिजपछि मौन बसेका अनमोलले केही दिनको अन्तरमा ‘छड्के २, पूजा शर्माको फिल्म र जेरी २’मा अभिनय गर्ने पक्का भएको छ ।

अनमोलले पहिले ‘छड्के २’को छायांकन गर्नेछन् । यसपछि, तिहार लगतै पूजा शर्माको निर्माण र सुदर्शन थापाको निर्देशनमा बन्ने चलचित्रमा काम गर्नेछन् । त्यसपछि भने ‘जेरी २’मा काम गर्ने पक्का भएको छ । चलचित्र ‘जेरी २’मा नायिका आना शर्मासँग कुरा भैरहेको निर्माणपक्षले बताएको छ । यस्तै, चलचित्रका लागि केही कलाकार अडिसनबाट छानिने निर्माता सरोज न्यौपानेले बताए । उनका अनुसार, आउँदो बर्षको दशैंमा यो चलचित्र रिलिज गर्ने योजना छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *