भदौ २४ मा ‘ऐना झ्यालको पुतली’ रिलिज हुने

१८ असार २०७९ १४:१३

चलचित्र ‘ऐना झ्यालको पुतली’ भदौ २४ गतेबाट रिलिज हुने भएको छ । चलचित्रको पोष्टर सार्वजनिक गर्दै निर्माणपक्षले प्रदर्शन मिति पनि तय गरेको हो । यो चलचित्र दक्षिण कोरियाको ‘बुसान इन्टरनेशनल फिल्म फेस्टिभल’, बंगलादेशको ‘ढाका इन्टरनेशनल फिल्म फेस्टिभल’, चेक रिपब्लिकको ‘जलिन फिल्म फेस्टिभल’, अष्ट्रेलियाको ‘एसिया प्यासिफिक स्क्रिन अवार्ड’ जस्ता विश्वका प्रतिष्ठित फिल्म फेस्टिभलमा छनोट भैसकेको छ ।

बुसानमा सबैभन्दा ठूलो पुरस्कार राशि रहेको ‘न्यू करेन्ट सेक्सन’ छानिने पहिलो नेपाली चलचित्रको समेत इतिहास बनाएको यो चलचित्रले ढाकामा सुजित बिडारीलाई उत्कृष्ट निर्देशकको अवार्ड विजेता बनाएको थियो ।

सुजितले यसअघि ‘सावित्री’को लेखन तथा निर्देशन गरेका थिए । यो चलचित्रले पहाडी जिल्लाको गाउँमा पढ्ने १३ वर्षीया किशोरीको सहरमा गएर पढ्ने सपनालाई विषय बनाएको छ । तर जतिचोटी उनी सपनाको नजिक पुग्छिन् कुनै न कुनै बाधा आइपरेर उनको त्यो सपना भताभुंग हुन्छ । सुजितले किशोरीको पढ्ने सपनालाई ऐना जस्तो झ्यालमा अड्किएको पुतलीसँग तुलना गरेर कथानक तयार गरेको बताए ।

सवा करोड हाराहारीको बजेटमा बनेको यो चलचित्रमा सिरु बिष्ट, कञ्चन चिमरिया, दिनेश खत्री, राज थापा, बिशा चामलिङ राई, उमेश श्रेष्ठ, मल्लिका श्रेष्ठ आदि कलाकारको अभिनय रहेको छ । आइसफल प्रडक्सन र लोकल सिनेमाको संयुक्त ब्यानरमा बनेको यो चलचित्रलाई आकाश पौडेल, प्रविन स्याङ्बो, सुजित बिडारी, रामकृष्ण पोखरेल र सुशान्त श्रेष्ठ मिलेर निर्माण गरेका हुन् ।

चलचित्रमा अमर महर्जनको छायांकन, किरण श्रेष्ठको सम्पादन, पुष्पा संगमको संगीत, कला संग्रौलाको प्रडक्सन डिजाइन, किशोर आचार्यको साउन्ड डिजाइन र राजेन्द्र मोक्तानको कलर ग्रेडिङ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *