‘बाबरी’को शिर्ष गीतमा रोमान्टिक धिरज–अदिती

३१ जेठ २०७९ १२:१८

भदौको ३१ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘बाबरी’को टिजरले राम्रो प्रतिक्रिया पाइरहँदा यसको पहिलो गीत सार्वजनिक गरिएको छ । सार्वजनिक पहिलो गीतले पनि दर्शकको प्रतिक्रिया सुखद पाउने विश्वास निर्माणपक्षको छ । आज काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै चलचित्रका मुख्य कलाकार धिरज मगर र अदिती वुढाथोकीको रोमान्टिक अवतार सार्वजनिक गरिएको हो ।

अनमोल गुरुङको शब्द तथा संगीतमा तयार भएको गीतमा अनमोल र अस्मिता अधिकारीको स्वर छ । गीतको शब्द, संगीत र स्वर कर्णप्रिय छ । अडियोमा यो गीत हिट हुने आँकलन गर्न सकिन्छ ।

भिडियोका कुरा गर्नुपर्दा कोरियोग्राफी नयाँ लाग्दैन । तर, सिक्किमको रमणीय लोकेशनमा अदिती र धिरज खुलेका छन् । लोकेशन, यसको मेकिङ, अदिती र धिरजको केमेष्ट्रीले भिडियोलाई बलियो बनाएको छ ।

चलचित्रमा धिरज र अदितीको साथमा धिरज नाडकर, बादल भट्ट, शेखर चापागाँई, कमलमणी नेपाल, उर्मिला बस्नेत, सुनिता श्रेष्ठ लगायतका कलाकारको अभिनय छ । चलचित्रमा सम्पादन, कथा र निर्देशन सुरेन्द्र पौडेलको छ । सुरेन्द्रले यो प्रोजेक्टलाई उच्च महत्वकांक्षाको साथमा हेरेका छन् ।

सिजन दाहाल, रिता बोहरा, किशोर नेपाल र मनोज त्रिपाठी चलचित्रका लेखक हुन् । पुष्पलता बुढाथोकी र गणेश वुढाथोकी निर्माता रहेको चलचित्रकी सह–निर्मात्री सुष्मा गुरुङ हुन् । नरेन्द्र मैनालीको छायांकन रहेको चलचित्रमा अन्जिला खत्री र विक्रम लामाको कोरियोग्राफी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *