निर्माता तथा कलाकार दीपकराज गिरी र उनको टिम यतिबेला पोखरामा छ । नयाँ चलचित्रको कथालाई अन्तिम रुप दिनका लागि उनीहरु जुटेका हुन् । चलचित्रको छायांकन असारको पहिलो साताबाट सुरु गर्ने योजना उनीहरुको छ ।
तर, मिडियामा दीपकको टिमले ‘छक्का पन्जा ४ वा माग्ने राजा’ मध्ये एउटा चलचित्र बनाउन लागेको खबरहरु सार्वजनिक भैरहेका छन् ।
तर, कलाकार दीपकराज गिरी भने अहिले नै चलचित्रको नाम फाइनल नगरिएको बताउँछन् । उनले भने–‘हामी कथालाई अन्तिम रुप दिनका लागि पोखरामा छौं । चलचित्रको नाम माग्ने राजा वा छक्का पन्जा ४ जुन पनि हुन सक्छ । तर, जुन नाम भएपनि निर्देशक हेमराज वीसी नै हुन् ।’
चलचित्रका लागि दीपकराज गिरी, केदार घिमिरे, निर्मल शर्मा लगायतका कलाकार फाइनल छन् । चलचित्रको कथा हेमराजको हो भने पटकथा तथा संवाद दीपकराज गिरीको हो । यो बर्षको दशैंमा रिलिज गर्ने योजना स्वरुप उनीहरु असारको पहिलो साताबाट काम सुरु गर्ने दौडमा छन् ।
दीपकराजको कुरा अनुसार, यसपटक चलचित्रको निर्देशनमा दीपाश्री निरौला नहुने देखिएको छ ।