नायिका पूजा शर्मा अभिनित चलचित्र ‘संझना विर्सना’ असारको ३१ गतेबाट रिलिज हुँदैछ । उनै, पूजाको अर्को चलचित्र ‘सम्हालिन्छ कहिले मन’ रिलिजको लागि तयार भएपनि यसको नयाँ प्रदर्शन मिति तय भएको छैन ।
तर, वुझिएअनुसार अब यो चलचित्र भदौको १० गतेबाट रिलिज गर्ने तयारीमा यसको निर्माणपक्ष लागेको छ । सुदर्शन थापा निर्देशित चलचित्रको केही दिनमा एउटा गीत सार्वजनिक हुँदैछ । सोही दिन नै चलचित्रको प्रदर्शन मिति पनि सार्वजनिक गर्ने तयारी निर्माणपक्षको छ ।
यो चलचित्रमा पूजा शर्मा, सोनम तोप्देन र आकाश श्रेष्ठ मुख्य भूमिकामा छन् । चलचित्र यदि भदौको १० गतेबाट रिलिज भएको खण्डमा नायक प्रदिप खड्काको चलचित्र ‘प्रकाश’सँग जुध्नेछ ।
‘प्रेमगीत’पछि एकसाथ काम नगरेका प्रदिप र पूजाको चलचित्र एकसाथ आएको खण्डमा, यो उनीहरुको लागि प्रतिष्ठाको लडाई समेत हुने छ । यसअघि पनि पूजाको ‘रामकहानी’सँग प्रदिपको ‘रोज’ जुधेको थियो ।