अक्षयको ‘सम्राट पृथ्वीराज’ले ३ दिनमा कमायो ३९ करोड

२३ जेठ २०७९ ८:१६

नायक अक्षय कुमारको मुख्य भूमिका रहेको चलचित्र ‘सम्राट पृथ्वीराज’ बक्स अफिसमा दरिलो कलेक्शन गर्न असफल भएको छ । फिल्मको ३ दिने कलेक्शनले यसको लगानीको आधा हिस्सा पनि फिर्ता गर्ने संभावना देखिएको छैन । यो फिल्मले शुक्रबार १०.७० करोड, शनिबार १२.६० करोड र आइतबार १६.१० करोडको व्यापार गरेको छ । तीन दिनमा फिल्मले ३९.४० करोडको कमाई गरेको छ ।

सामान्य बजेटको फिल्मका लागि यो विकेन्ड कलेक्शन राम्रो हो । तर, २ सय करोडको फिल्मका लागि यो व्यापार कमजोर सुरुवात मानिएको छ । यो फिल्ममा अक्षय कुमार, मानुषी छिल्लर, संजय दत्त, सोनु सुद लगायतका कलाकारको मुख्य भूमिका छ । बक्स अफिसमा यो फिल्मले कमजोर व्यापार गरेपछि अक्षयको स्टारडममाथि नै प्रश्न उठ्न थालेको छ ।

यो फिल्म रिलिजका लागि अक्षयले भारतीय जनता पार्टीका नेताहरुको साथ लिएका थिए । भारतका गृहमन्त्री अमित शाहदेखि उत्तर प्रदेशका मुख्य मन्त्री योगी आदित्यनाथसम्मले फिल्मको प्रचारमा साथ दिए । बीजेपीको सरकार भएको राज्यमा फिल्मको कर समेत मुक्त गरियो । तर, फिल्मले गतिलो व्यापार गर्न सकेन ।

फिल्मको समिक्षा नै मिश्रित आएपछि अक्षयको फिल्मले चमत्कारीक व्यापार गर्न नसकेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *