बलिउड चलचित्र ‘सम्राट पृथ्वीराज’ले बक्स अफिसमा खराब ओपनिङ गरिरहेको समयमा साउथ चलचित्र ‘विक्रम’ले भने बम्पर ओपनिङ गरेको छ । साउथका सुपरस्टार कमल हसनको यो चलचित्रलाई दर्शक र समीक्षकले पनि रुचाएका छन् ।
यो चलचित्रले पहिलो दिन भारतीय बक्स अफिसमा ३४ करोड कमाएको छ । योसँगै यो चलचित्र कमल हसनको करिअरको सर्वाधिक ओपनिङ गर्ने चलचित्र समेत बनेको छ ।
चलचित्रको कथावस्तु, एक्सन, यसको ब्याकग्राउन्ड म्युजिकलाई दर्शकले रुचाएका छन् । नेपाली बक्स अफिसमा भने ‘विक्रम र सम्राट पृथ्वीराज’को ओपनिङ फिक्का देखिएको छ ।
‘पुष्पा, आरआरआर, केजीएफ २’ लगायतका चलचित्रले नेपाली बक्स अफिसमा बम्पर कमाई गरेपछि वितरकहरु साउथ चलचित्र नेपाल भित्राउन उत्साहित देखिएका छन् । तर, यी बाहेक अन्य चलचित्रको व्यापार निक्कै कमजोर छ ।