शुक्रबारदेखि रिलिज भएको चलचित्र ‘कबड्डी ४’ले बक्स अफिसमा सुनामी नै ल्याइरहेको छ । यो चलचित्रले प्रत्येक दिन साढे २ करोड भन्दा माथिको व्यापार गर्यो । शुक्रबार र शनिबार चलचित्रले ३ करोडको आँकडा छोएको दाबी वितरकको छ । यसअर्थमा चलचित्रले ३ दिनमै साढे ८ करोड वरिपरीको व्यापार गरेको निर्माता मणिराम पोखरेल बताउँछन् ।
चलचित्र ‘छक्का पन्जा’ले नेपालबाटै निर्माताले १८ करोडसम्मको व्यापार गर्न सक्छन् भन्ने पुष्टी गरिदियो । अब, रिलिज भएको नयाँ चलचित्र ‘कबड्डी ४’ले भने नेपाली हलबाट दैनिक शत प्रतिशत अकुपेन्सीमा व्यापार गर्न सकेको खण्डमा सवा ३ करोडसम्म व्यापार गर्न सकिने देखाएको छ ।
यसैले, नेपालमा निर्माताले चलचित्र राम्रो बनाउने हो र त्यसलाई ब्रान्डिङ गर्न सक्ने हो भने ४–५ करोडसम्मको लगानी गर्दा पनि सुरक्षित हुने देखाएको छ ।
कुनै चलचित्रले लाइफ टाइम कलेक्शन २० लाखको पनि गर्न नसकेको अवस्थामा केही चलचित्रले भने दैनिक ३ करोडको व्यापार गरिरहेका छन् । यसैले, नेपाल भित्रै बजार खोज्ने हो भने निर्मातालाई पर्याप्त अवसर त छ । तर, चलचित्र पनि उत्कृष्ट बनाउन आवश्यक रहेको पुष्टी ‘कबड्डी ४’ले गरेको छ ।