‘कबड्डी ४’ले गर्यो ३ करोडको ओपनिङ

१४ जेठ २०७९ १२:४८

देशकै ठूलो चेन क्यूएफएक्सबाट मात्र करिब १ करोडको ग्रस कलेक्शन गरेको चलचित्र ‘कबड्डी ४’ले शुक्रबार बम्पर ओपनिङ गरेको छ । काठमाडौं र काठमाडौं बाहिरका वितरकका अनुसार, यो चलचित्रले शुक्रबार मात्र करिब ३ करोड हारहारीको व्यापार गरेको छ । यो नेपाली चलचित्रको लागि अहिलेसम्मकै ठुलो ओपनिङ हो । यसअगाडि चलचित्र ‘छक्का पन्जा’ले पहिलो दिनमा १ करोडढ ८० लाखको ओपनिङ गरेको थियो ।

देशभर मल्टिप्लेक्स हलहरु बढेसँगै यसको फाइदा यो चलचित्रले लिएको छ । शनिबार पनि चलचित्रको व्यापारमा कुनै कमी आएको छैन । संभवत आज पनि यो चलचित्रले शुक्रबारको जस्तै व्यापार गर्ने देखिन्छ ।

आइतबारको अकुपेन्सीले पनि चलचित्रको ओपनिङ व्यापार बम्पर हुने देखाइएको छ । यो चलचित्रको ३ दिने विकेन्ड कलेक्शन नेपाली चलचित्रको इतिहासमै अहिलेसम्मको बम्पर र इतिहास हुने देखिएको छ ।

शनिबार चलचित्रका मुख्य कलाकारहरु दयाहाङ राई, सौगात मल्ल, मिरुना मगर, वुद्दि तामाङ, बिजय बराल लगायतका कलाकार काठमाडौं हलमा पुगेका थिए । उनीहरुले दर्शकसँग बसेर चलचित्रको प्रतिक्रिया लिए ।

देशका सबैजसो हलमा शनिबार शत प्रतिशत अकुपेन्सी देखिएको छ । ‘कबड्डी’को ब्रान्डप्रति दर्शकको विश्वास, कलाकार, गीतसंगीत र फाइनल म्याचको प्रचारका कारण चलचित्रको ओपनिङमा सुनामी आएको टिप्पणी गर्न सकिन्छ ।

रामबाबु गुरुङ निर्देशित यो चलचित्रको चौथो सिरिजसँगै अब यो नाममा चलचित्र नबन्ने भएको छ । गुरुङले अब ‘मास्टर बमकाजी’ नाममा चलचित्र बनाउने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *