‘कबड्डी ४’को टिकट पाउनै मुश्किल, सलमानको शो टिकट विक्री नभएर रोकियो

१२ जेठ २०७९ ४:५९

शनिबार बेलुकी बलिउडका सुपरस्टार नायक सलमान खान दशरथ रंगाशालामा आयोजना हुने कन्सर्टमा नेपाली दर्शकमाझ उपस्थित हुने कार्यक्रम थियो । तर, आयोजकले कार्यक्रम हुनु भन्दा केही दिन अगाडि मात्र टिकट विक्री नभएको भन्दै कार्यक्रम स्थगित गर्यो ।

आयोजकले नै सलमानको यो कार्यक्रमका लागि जम्मा ६–७ लाखको टिकट विक्री भएको बताएको छ । करोडौ रकम खर्च गरेर नेपाल ल्याउन लागिएका बलिउड स्टारको कार्यक्रममा यति थोरै टिकट मात्र विक्री हुनु अचम्मको कुरा हो ।

सलमानको कार्यक्रम टिकट नपाएर स्थगित भैरहँदा भोली शुक्रबारदेखि रिलिज हुन लागेको नेपाली चलचित्र ‘कबड्डी ४’को भने देशभर नै टिकट पाउन मुश्किल छ । मल्टिप्लेक्समा हालसम्मकै उच्च शो पाएपनि यो चलचित्र हेर्न दर्शक ओइरिएका छन् । जसकाकारण, भोली शुक्रबार मात्र होइन, शनिबारका लागि पनि टिकट पाउन मुश्किल पर्न थालेको छ ।

समीक्षक सुशिल पौडेलले यही बिषयमा सामाजिक संजालमा लेखे–‘सलमानको कार्यक्रम टिकट विक्री नभएर रद्द भएछ । हाम्रो कबड्डी ४ को टिकट पाउन मुश्किल छ । यो भन्दा खुशीको कुरा के होला र ?’ यो चलचित्रलाई क्यूएफक्स चेनले देशभरका हलमा ९८ शोज उपलब्ध गराएको छ । तर, बुकिङको गती हेर्दा विराटनगरबाहेक यो चलचित्रको अन्य शहरमा टिकट पाउन मुश्किल देखिएको छ ।

काठमाडौंका वीग मुभिज, वान सिनेमाज, एफक्यूब लगायतका हलमा पनि अवस्था त्यस्तै छ । चलचित्रले पहिलो दिनमा २ करोड माथिको व्यापार गर्ने अड्कल वितरकहरुले समेत लगाउन थालेका छन् । नेपाली चलचित्रमा लामो समयपछि यस्तो क्रेज देखिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *