नेपालमा पहिलो पटक संवादसमेत समावेश गरेर गीति चलचित्रको निर्माण हुने भएको छ । देवेन्द्र पाण्डेको निर्देशनमा तयार हुन लागेको चलचित्रको नाम ‘मानिस ठूलो दिलले हुन्छ’ राखिएको छ । चलचित्रमा अभिनास न्यौपाने र श्रेया कार्की मुख्य भूमिकामा देखिदैछन् । सौरपानी मिडिया प्रा.लिको ब्यानरमा निर्माण हुने चलचित्रको छायांकन पनि आजबाट सुरु भएको छ ।
चलचित्रमा मोहन निरौला, उत्तम केसी, सरु सुनववार, शुभम् आचार्य र सविना न्यौपानेको मुख्य भूमिका रहनेछ । मणि नेपाली पनेरुले निर्माण गर्ने चलचित्रलाई १५ दिनमा छायांकन सक्ने योजना निर्माणपक्षको छ । मणिले लेखेका ६ वटा लोकगीतलाई आधार बनाएर यो चलचित्र बन्न लागेको हो ।
चलचित्रका गीतहरुमा राजु परियार, तुलसी पराजुली, देवि घर्ती, निशा देसार, धमेन्द्र सेवान लगायतका गायक–गायिकाहरुको स्वर रहनेछ । निर्देशक पाण्डेले सामाजिक कथामा चलचित्र बनाउन लागेको बताए । यो चलचित्र एक घन्टा भन्दा लामो हुनेछ । विकास दाहालले सम्पादन गर्ने चलचित्रलाई उत्सव दाहालले खिच्नेछन् ।