हलमा दर्शक फर्काउन ‘कबड्डी ४’कै प्रतिक्षा

९ जेठ २०७९ ५:५१

बैशाख १ गते रिलिज भएको नेपाली चलचित्र ‘ए मेरो हजुर ४’पछि हलमा लागेका सबै नेपाली चलचित्र असफल भए । यो चलचित्रले हलमा दर्शक तानेपनि त्यसपछि रिलिज भएका चलचित्रबाट दर्शक निराश भए । आशा गरिएको चलचित्र ‘लक्का जवान’ले समेत दर्शकलाई हलसम्म तान्न सकेन ।

‘मन्त्र, लक्का जवान, षट्कोण, लाइफ इन एल ए’ लगायतका चलचित्र बक्स अफिसमा नराम्रोसँग पछारिए । दर्शक हलमा फर्किन अझै पनि सकस मानिरहेका छन् ।

तर, आउँदो शुक्रबार अर्थात जेठको १३ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘कबड्डी ४’ले भने दर्शकलाई हलसम्म तान्ने अपेक्षा गरिएको छ । स्थानीय निर्वाचनको मत परिणाम अझै पूर्ण रुपमा सार्वजनिक नभैसकेकाले पनि यो चलचित्रको प्रचारमा केही अवरोध त भएको छ । तर, चलचित्रको निर्माणपक्षले मोफसल टुर गरिरहेको छ । यो बाहेक चलचित्रको गीतसंगीत र ट्रेलरले दर्शकको मन जितेको छ ।

यसकारण, पनि ‘कबड्डी ४’ले ठूलो संख्यामा दर्शक हलसम्म तान्ने अपेक्षा गरिएको छ । रामबाबु गुरुङको निर्देशनमा तयार भएको चलचित्रमा दयाहाङ राई, सौगात मल्ल, मिरुना मगर, वुद्दि तामाङ, बिजय बराल लगायतका कलाकारको अभिनय छ ।

एकातिर, हिट चलचित्रको सिरिज र अर्कोतिर ‘कबड्डी’ सिरिजको अन्तिम चलचित्र भनिएकाले पनि दर्शकले यो चलचित्रलाई प्रतिक्षा गरिरहेका छन् । कोरोना महामारीपछि नेपाली चलचित्रमा सिरिजकै दबदबा चलिरहेको समयमा ‘कबड्डी ४’ले यसका मेकरलाई मात्र नभएर नेपाली चलचित्र क्षेत्रलाई पनि ठूलो राहत दिने विश्वास गर्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *