जन्मदिनमा सुहानाः २ फिल्मबाटै ‘राइजिङ स्टार’

२६ वैशाख २०७९ ३:४३

तपाइलाई के कुराको अहंमता छ भन्ने प्रश्नमा सुहानाले भनेकी थिइन्–‘मलाई मेरो नामको अहंमता छ । अर्थात सुहाना थापा हुनुमा गर्व छ ।’

सुहानाले २ वटा चलचित्रमा अभिनय गरेकी छिन् । त्यो पनि २ वटै चलचित्र उनको घरका हुन् । ‘ए मेरो हजुर’ जस्तो हिट चलचित्रको तेश्रो र चौथो सिरिजमा उनले काम गरेकी छिन् । तर, सुहाना थापालाई नेपाली चलचित्र क्षेत्रले सफल नायिकाको रुपमा स्थान दिइसकेको छ । उनी आफ्नो ह्याट्रिक चलचित्र पनि घरको नै गर्दैछिन् । संभवत आज उनको तेश्रो चलचित्रको घोषणा हुनसक्छ ।

नायिका झरना थापा र निर्माता सुनिल कुमार थापाको एक्ली छोरीको रुपमा जन्मनु उनका लागि सबैभन्दा ठूलो फाइदा थियो । सानैबाट झरना थापाकी छोरी भनेर चिनिएकी सुहाना चलचित्रमा आएपछि भने आफ्नो फरक परिचय बनाउँदैछिन् ।

अमेरिकामा रहेर पढाई गर्दै आएकी सुहानाले नेपाल र नेपाली चलचित्रलाई वुझेकी छैनन् कि भन्ने तपाइलाई लाग्न सक्छ । तर, सुहाना थापा भित्र नेपालको राजनीति, चलचित्र, समाजको बारेमा यथेष्ट ज्ञान छ । उनलाई देश विकास र चलचित्र क्षेत्रको विकासका लागि सरकारलाई दिनुपर्ने सुझाव पनि थाहा छ ।

चलचित्र क्षेत्रलाई एक बनाएर लैजान के गर्नुपर्छ भन्ने पनि राम्रोसँग ज्ञान छ । चलचित्र ‘ए मेरो हजुर ४’को प्रचारका क्रममा सुहानाले दिएका अन्तरवार्ताबाट पनि उनी भित्रको ज्ञानको भण्डार प्रष्ट छल्कन्छ ।

नेपाली चलचित्र क्षेत्रले एक ‘राइजिङ स्टार’ पाएको छ । तर, सुहानाले त्यसलाई परिष्कृत गर्न आवश्यक छ । घर भित्रको चलचित्रबाट बाहिर निस्कन आवश्यक छ । आफूलाई परिवारको मात्र नभएर सिंगै चलचित्र क्षेत्रकै नायिका हुँ भनेर पुष्टी गर्न आवश्यक छ ।

सुहानाले २ वटा चलचित्रबाटै ‘झरना थापाकी छोरी’ भन्ने ट्यागलाई हटाउने कोशिश गरेकी छिन् । अबका दिनमा उनले ‘चलचित्र क्षेत्रकी छोरी’ भनेर आफूलाई परिचित गराउन आवश्यक छ । सुहानालाई जन्मदिनको धेरै धेरै शुभकामना ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *