उषाको गुनासोः पारिश्रमिक माग्दा भिख मागे जस्तो गर्छन्, को हौं तिमी भन्दै हेप्छन्(भिडियो कुराकानी)

२३ वैशाख २०७९ १२:४४

म्युजिक भिडियोकी सफल मोडल उषा उप्रेतीले पारिश्रमिक माग्दा आफूहरुले भिख मागे जस्तो गरेर हेपिएको गुनासो गरेकी छिन् । हिट नेपालसँगको कुराकानीमा उनले भनिन्–‘सुरुमा मख्ख पारेर काम गराउने अनी पारिश्रमिक दिने बेलामा कल नै नउठाउने प्रवृत्ती बढेको छ । कसैलाई गरेको विश्वास नटुटोस् भन्ने हो । भरोसा टुटेपछि केही पनि नहुने रहेछ । मेरो त धेरै रकम लिन बाँकी छ ।’

उषाले आफूहरु यो क्षेत्रमा आएको धेरै नभएको भन्दै अग्रिम पेश्की रकम माग्दा हेपिने गरेको समेत गुनासो गरिन् । भनिन्–‘अगाडि नै केही रकमको लागि आग्रह गर्दा को हौं तिमी, हिरोइन हौं भन्दै हेप्नुहुन्छ । हामीले उहाँहरुलाई जसरी हेर्छौ, त्यसरी उहाँहरुले हेर्नु नै हुन्न । हामीले दिनभर मिहिनेत गरेका हुन्छौं । तातो घाम र चिसो पानी नभनी उफ्रिएका हुन्छौं । हामी पनि मानिस त हौं । यो त हामीले काम गरेर कमाएको सम्पत्ती हो नी । तर, हामीलाई भिख मागे जस्तो गर्नुहुन्छ । यस्तो घटना त मसँग धेरै भैसकेको छ ।’

उषाले मात्र होइन, अर्का सफल मोडल सुधिर श्रेष्ठले पनि पारिश्रमिकमा आफूलाई पनि समस्या पर्न थालेको गुनासो गरेका छन् । उनले भने–‘सुरुवातमा त मलाई अरुको कुरा सुन्दा, यस्तो पनि हुन्छ र जस्तो लागेको थियो । तर, अहिले मसँग पनि यस्तो घटनाहरु हुन थालेका छन् । निर्देशकहरुले यो बिषयमा सोचिदिनुपर्छ ।’

अर्को एक प्रसंगमा उषा र सुधिरले म्युजिक भिडियो निर्माणमा कमी आएको बताए । तर, आफूहरुले काम पाइराखेको उनीहरुको तर्क छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *