लक्का जवानः कमेडीसँगै भावुक बनाउने कथा

२३ वैशाख २०७९ ११:०४

शिवहरि पौडेलको डेब्यू निर्देशनमा तयार भएको चलचित्र ‘लक्का जवान’ आजबाट देशभरका हलमा रिलिज भएको छ । हाँस्य कलाकारहरुको ठूलो समुहको साथमा केही नाम चलेका फिल्मी कलाकारको मुख्य भूमिका रहेको यो चलचित्रको आज विशेष शो आयोजना गरिएको छ । धु्रव वन्तको लगानीमा तयारी भएको चलचित्रमा मदनकृष्ण श्रेष्ठ, किरण केसी, शिवहरि पौडेल, राजाराम पौडेल, सुशिल पोखरेल, दिलिप रायमाझी, प्रियंका कार्की, वर्षा सिवाकोटी, सलोन बस्नेत, अनु वन्त लगायतका कलाकारको मुख्य भूमिका छ ।

के हो कथा ?

यो एउटा गाउँको कथा हो । ३ छोरा र ३ छोरी भएका २ परिवारको झगडाको कथाविच यो चलचित्र अगाडि बढ्छ । छोरा भएकोमा गमक्क फुलेका किरण केसी र किरणको परिवारको हेपाईले आक्रोशित सुशिल पोखरेलको परिवारको कथामा यो चलचित्र बगेको छ ।

भ्रष्टाचार गरेर अकुत सम्पत्ती कमाएका किरण केसी छोराको फुर्ती लगाउन पछि पर्दैनन् । तर, ३ छोरी भएका सुशिल पोखरेल पनि किरणको प्रगतीमा सधै डाहा गर्छन् । मन्त्रीको चाँकडी गरेर करोडौ भ्रष्टाचार गर्दा पनि छुट्ने किरण केसी र उनका छोराहरुसँग माया प्रेममा परेका सुशिलका २ छोरीको बिबाहसँगै कथा अगाडि बढ्छ । छोराहरुको बिबाहपछि विस्तारै किरणको परिवार एक्लो बन्दै जान्छ र अन्त्यमा किरण केसी बुढ्यौलीमा एक्लो जीवन जिउन बाँध्य हुन्छन् ।
एउटा सुन्दर गाउँमा वाध्यताका कारण लक्का जवान नै नभएको अवस्था र मान्छे मर्दा पनि मलामी जाने लक्का जवान नहुनुको अवस्थामा देखाउँदै यो चलचित्र बनेको छ ।

के छ राम्रो कुरा ?

२ घन्टा २० मिनेट भन्दा लामो यो चलचित्रमा करिब २ घन्टा दर्शक पेट मिचिमिची हाँस्छन् । शिवहरिले संवाद चोटीलो बनाएका छन् ।

देशको बिषय परिस्थिती, विदेशीनु पर्दाको पीडा, नेताहरुको राजनीति, छोरा र छोरीविचको भेदभाव, तल्लो जाती र माथिल्लो जातीविचको भेदभावको कथालाई चलचित्रले हाँस्यरसमा प्रस्तुत गरेको छ । चलचित्रको क्लाइमेक्स पावरफूल छ । अन्तिमको करिब १५ मिनेट दर्शक हलमा सुक्क सुक्क गरी रुन्छन् ।

गाउँमा लक्का जवान नहुँदाको पीडा, छोरा छन् भनेर फुर्ती गर्दा एउटा पिताले जीवनको अन्तिम क्षणमा भोग्नुपरेको दर्दनाक अवस्थालाई चलचित्रले मर्मस्पर्शी रुपमा देखाएको छ । यो चलचित्र हेर्दा दर्शक अधिकांश समय हाँस्छन् भने अन्तिममा आँशु झार्दै बाहिर निस्कन्छन् । कलाकार मदनकृष्ण श्रेष्ठको इन्ट्री र उनले बोल्ने संवादले सोच्न वाध्य गराउँछ । चलचित्रको गीतसंगीत शक्तिशाली छ । बाबुल गिरीले ३ वटा गीत नै उत्कृष्ट बनाएका छन् । चलचित्रको मर्मस्पर्शी गीत विशेष छ ।

कमजोरी

यो चलचित्र हेर्दा दर्शकलाई सिरियलको याद आउन सक्छ । शिवहरिले छोटाछोटा दृश्य निर्माण गरेका छन् र तीनलाई त्यसै अन्त्य गरिदिएका छन् । कतिपय दृश्यहरु दर्शक हसाँउनका लागि मात्र राखेको प्रष्ट हुन्छ । क्लाइमेक्सलाई छाड्ने हो भने यो चलचित्र चलचित्रको लयमा भन्दा पनि सिरियलको शैलीमा अगाडि बढेको छ । निर्देशकले संवादको माध्यमबाट दर्शकलाई हसाँउन मात्र खोजेका छन् । जसलेगर्दा, चलचित्रको दृश्य भन्न खोजेको कुरा भन्नै नसकी नयाँ दृश्यमा फड्को मार्छ ।

समग्रमा यो चलचित्र हेरुन्जेल दर्शकलाई दिक्क लाग्दैन । कलाकारको अभिनयले दर्शकलाई हलमा बाँधीराख्छ । संवादले दर्शकलाई खुबै रमाइलो बनाउँछ । र, अन्तिममा एकपटक सोच्न वाध्य गराउँछ । यो चलचित्र तपाइले परिवारसँगै बसेर हेर्नुभयो भने तपाइलाई अझ विशेष लाग्न सक्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *