बोर्ड अध्यक्षको बार्गेनिङ गरेर भूवन कांग्रेस प्रवेश गरेका हुन् ?

२१ वैशाख २०७९ ५:४१

नेपाली चलचित्र क्षेत्रका सदाबहार नायक भूवन केसी सोमबार बुधबार नेपाली कांग्रेस पार्टी प्रवेश गरेसँगै, धेरैले उनले चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि बार्गेनिङ गरेको अड्कल काटेका छन् ।

यसअगाडि, निर्देशक दयाराम दाहाल र नायक भूवन केसी बोर्ड अध्यक्षको दौडमा थिए । नेकपाको सरकार रहेको समयमा भूवन केसीले बोर्ड अध्यक्ष बन्नका लागि खुबै दौडधुप गरे । तर, दयाराम दाहाल अध्यक्ष बनेपछि भूवन केसी रुष्ट बनेका थिए ।

यसैले, स्थानीय निर्वाचनको मुखमा नेपाली कांग्रेस पार्टी प्रवेश गरेका भूवन केसी जेठको तेश्रो सातामा दयारामको कार्यकाल सकिएपछि बोर्डको अध्यक्ष बने भने अनौठो नमान्दा हुन्छ ।

तर, नायक भूवन केसीले भने आफूले पदको बार्गेनिङ नगरेको बताए । हाम्रो सिनेमासँग कुराकानी गर्दै भूवनले भने–‘म नेपाली कला, संकृती र चलचित्रको जगेर्ना र विकासका लागि कांग्रेस पार्टीमा प्रवेश गरेको हुँ । तर, सरकारले मेरो योग्यतालाई कदर गरेर बोर्ड अध्यक्षको जिम्मेवारी दिएको खण्डमा पनि म तयार छु ।’

भूवनले बोर्ड अध्यक्षको बार्गेनिङ गरेर कांग्रेस पार्टीमा प्रवेश गरेको भन्ने चर्चालाई अस्वभाविक नठानेको बताए । भने–‘यस्तो खालको चर्चालाई म नकारात्मक रुपमा हेर्दिनँ । तर, पदको बार्गेनिङ गरेर म पार्टीमा लागेको होइन । फेरि, चलचित्र विकास बोर्डको अध्यक्ष बन्नका लागि म लायक छैन भनेर कसैले पनि भन्न सक्दैन ।’

नायक केसी चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि लामो समयदेखि कसरत गरिरहेका छन् । तर, यसपटक प्रधानमन्त्री शेरबहादुर देउवाको हातबाट टिका लगाएरै पार्टी प्रवेश गरेका भूवनले कुनै स्वार्थ विना पार्टीको छहारी समातेको कुरालाई चलचित्रकर्मी र दर्शक मान्न तयार छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *