३ पुस्ताका ३ हिट नायिका ३ पार्टीमा

२० वैशाख २०७९ १५:२६

नायिका करिश्मा मानन्धर केही हप्ता अगाडि नेकपा एमालेमा प्रवेश गरिन् । उनले, आफू नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको फ्यान भएको र उनको विचारसँग प्रभावित भएर एमालेमा प्रवेश गरेको बताइन् । करिश्माले कुनै पदका लागि भन्दा पनि आफूले साधारण कार्यकर्ता भएर काम गर्न पार्टीमा प्रवेश गरेको बताएकी थिइन् ।

करिश्मा एमालेका प्रवेश गर्नु अगाडि नयाँ शक्ति पार्टीमा पनि प्रवेश गरेकी थिइन् । तर, उनको नयाँ शक्ति पार्टीसँगको सहकार्य सुखद बन्न सकेन । नेपाली चलचित्र क्षेत्रमा कुनै समय एकछत्र राज गरेकी करिश्माले राजनीतिबाट आफूलाई नयाँ शैलीमा अगाडि बढाउने तयारी गरेकी छिन् ।

नेपाली चलचित्र क्षेत्रकी अर्की नायिका रेखा थापा राप्रपा नेपालमा आवद्ध छिन् । राजेन्द्र लिङ्देन नेतृत्वको पार्टीमा आवद्ध भएर रेखा चुनाव प्रचारमा देश दौडाहामा छिन् । उनले पनि आफूलाई राजेन्द्रको विचार मन परेको बताइन् । पार्टीको निर्वाचनमा राजेन्द्रको प्यानलबाट रेखा महासचिव पदमा समेत उठेकी थिइन् । तर, उनी पराजीत भइन् । रेखा यो पार्टीमा प्रवेश गर्नु अगाडि कमल थापा नेतृत्वको राप्रपा र त्यो अगाडि नेकपा माओवादी पार्टीमा आवद्ध थिइन् ।

नायिका स्वेता खड्काले भने आफूलाई पहिलो पटक सार्वजनिक रुपमा नै पार्टीमा आवद्ध गराइन् । ‘कहाँ भेटिएला’ डेब्यू नायिकाले आज प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको हातबाट टिका र माला लगाउँदै पार्टीको सदस्यता ग्रहण गरिन् । स्वेता राजनीति व्यापार नभएर विशुद्ध समाजसेवा भएको भन्दै आफूहरु अब अग्रसर हुन आवश्यक रहेको बताएकी छिन् ।

यसरी, नेपाली चलचित्रका ३ पुस्ताका ३ हिट नायिकाहरु राजनीतिमा लागेका छन् । उनीहरुले बोकेको विचार फरक छ तर बाटो एउटै छ ।

कलाकारहरुलाई राजनीतिक दलले निर्वाचनको समयमा प्रयोग गर्ने र अरु समयमा खासै वास्ता नगर्ने परिपाटी नेपालमा विकसित छ । निर्वाचनको समयमा कलाकारहरुलाई पार्टीमा प्रवेश गराउन शिर्ष दलहरु नै लालयित हुन्छन् । तर, निर्वाचनपछि कलाकारहरुको काम के हो र उनीहरुलाई के जिम्मेवारी दिने भन्ने नै स्पष्ट हुन दलहरुले सकेका छैनन् । नेपाली चलचित्र क्षेत्रका ३ पुस्ता ३ हिट नायिकाहरुले राजनीतिक यात्रालाई कसरी अगाडि बढाउने हुन्, त्यो भविष्यमा नै थाहा हुनेछ । तर, उनीहरु राजनीतिक दलको चुनावी प्रचारको माध्यम मात्र नबनुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *