निर्देशक परिवर्तन गरेर दोश्रो पटक घोषणा भयो ‘के घर के डेरा’

२५ चैत २०७८ ९:५९

‘के घर के डेरा’ नाममा दशकौ पहिले नेपाली चलचित्र बनिसकेको छ । यसपटक बन्न लागेको ‘के घर के डेरा’को कथा फरक छ । तर, यो चलचित्रको कथा मात्र होइन, चलचित्र बन्नका लागि गरिएको कसरत पनि फरक छ ।
२ बर्ष अगाडि काठमाडौंको अनामनगरमा रहेको सिलौटो रेष्टुरेन्टमा धुमधामसँग चलचित्रको घोषणा भएको थियो । सिङ्गे लामा निर्माता, सुव्रतराज आचार्य निर्देशक थिए । कलाकारहरुमा दयाहाङ राई, विपिन कार्की, वर्षा राउत पक्का भएका थिए ।

चलचित्र घोषणा भएपछि कोरोना आइदियो । कोरोनाले २ बर्ष चलचित्रको माहोल नै खाइदिएपछि चलचित्र बनाउने कुरा पनि लथालिंगै भयो । निर्देशक आचार्यले चलचित्र बनाउने भन्दै बुढासुब्बा डिजिटलबाट १० लाख रुपैयाँ डिजिटल राइट्सवापत पेश्की रकम पनि लिएका रहेछन् ।

तर, २ बर्षपछि चलचित्रको कथा जस्तै चलचित्र बन्ने कथा पनि फेरिएको छ । काठमाडौंमा आयोजना भएको पत्रकार सम्मेलनमा चलचित्रलाई अब सफल निर्देशक दीपेन्द्र के खनालले सम्हाल्ने घोषणा गरियो । कलाकारमा परिवर्तन गरिएको छैन ।

वैशाखको तेश्रो साताबाट छायांकनमा जाने चलचित्रले घर नभएका र घर भएकाहरुको कथालाई कमेडी तरिकाले प्रस्तुत गर्ने निर्देशक खनालको भनाई छ । यो चलचित्रको सम्पूर्ण छायांकन काठमाडौंमा नै हुनेछ ।
शरद श्रेष्ठ, राजीव श्रेष्ठ र किरण महर्जन निर्माता रहने चलचित्रमा यूवराज कार्की कार्यकारी निर्माताको रुपमा छन् । चलचित्रमा सिंगे लामाको कथा, महेश दवाडीको पटकथा तथा संवाद, दीर्घ गुरुङको छायांकन रहनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *