दिलिप रायमाझीः जसले एकैदिनमा ७ वटा फिल्मको छायांकन गर्थे

१६ वैशाख २०७९ १४:४०

तपाइलाई शिर्षक पढ्दा अनौठो र अचम्म लाग्न सक्छ । एकैदिनमा, कुनै नायकले ७ वटा चलचित्रको छायांकनमा काम गर्नु सामान्य कुरा होइन । तर, ‘आदिकवी भानुभक्त’बाट चलचित्र क्षेत्रमा डेब्यू गरेपछि नायक दिलिप रायमाझीको क्रेज ह्वात्तै बढेको थियो । सो समयमा दिलिपलाई नायक राजेश हमाललाई टक्कर दिने नायक भित्रिएको भन्दै टिप्पणी समेत भयो ।

सो समयमा दिलिपको माग गज्जबको थियो । कतिपय अवस्थामा त उनलाई निर्माताले आफ्नो चलचित्रमा समय नदिएको भन्दै अपरहण नै गर्नुपर्ने अवस्था आएको थियो ।

दिलिपले भने–‘कुनै समय मैले एकैदिनमा ७ वटा चलचित्रको सेटमा समेत काम गरेको छु । उक्त समयमा मेरो माग अत्याधिक थियो । एउटा चलचित्रमा टेक दिएपछि अर्कोमा गएर काम गरेका उदाहरण धेरै छन् ।’ दिलिपले यस्तो अवस्था किन आयो भनेर, आफूले विस्तारमा कुनै दिन बताउने हाम्रो सिनेमासँगको कुराकानीमा भने ।

नायक रायमाझीले चलचित्रको सेटमा खाना खान पाउनु भाग्य जस्तो लाग्ने समेत बताएका छन् । उनले भने–‘एकपटक हामी बसपार्कमा रातभरी चलचित्रको छायांकन गरेर बिहान खाना खादै थियौं । बसपार्कमा टिकट काट्न आएका मानिसहरुले छायांकनमा त चलचित्रका कलाकारले बिहानै खाना खादा रहेछन् भन्ने वुझेछन् । तर, हामीले अघिल्लो दिन बेलुकाको खाना भोलीपल्ट बिहान खाएका थियौं ।’

चलचित्रको सेटमा बिहान खाजा खाएपछि खाना खानका लागि बेलुकासम्म पर्खिनुपर्ने अवस्था रहेको पनि दिलिप सुनाउँछन् । उनले एउटा चलचित्रको छायांकनको अनुभव सुनाउँदै भने–‘चलचित्रको दृश्यमा खाना खानुपर्ने थियो । निर्देशकले ओके भन्ने वित्तिकै म खाना खान थाल्थेँ । तर, कट भन्ने वित्तिकै खान छाड्नुपर्ने थियो । मैले त, कट भनेपछि पनि खाना खाएर सकेको थिएँ ।’

एकै दिनमा ३ वटा चलचित्रको छायांकन गरेको अनुभव आफूसँग प्रशस्तै रहेको उनले सुनाए । दिलिप अभिनित चलचित्र ‘लक्का जवान’ वैशाखको २३ गते अर्थात आउँदो शुक्रबारबाट रिलिज हुँदैछ । दिलिप चलचित्रको प्रचारका क्रममा हाम्रो सिनेमा डटकमसँग गफ गर्दै थिए ।

तस्वीर सौजन्यः जक्सन डटकम

Leave a Reply

Your email address will not be published. Required fields are marked *