महानगरमा भूवन केसीः जनताको भरमा सुपरस्टारको रहर

२५ चैत २०७८ ९:३७

स्थानीय निर्वाचन नजिकिदै जाँदा काठमाडौं महानगरपालीकाको मेयर पदमा कस–कसले उम्मेदवारी देलान् भन्ने चासो र चर्चा पनि खुबै चलेको छ । र्यापरदेखि कलाकारसम्मको उम्मेदवारी घोषणाले बजार तरंगीत छ । देशका प्रमुख पार्टीहरुले अझै पनि उम्मेदवार तोक्न सकेका छैनन् । तर, कतिपय रहर गर्ने त कतिपय जनतालाई भरोसा दिलाउने स्वतन्त्रदेखि विभिन्न पार्टीका उम्मेदवारहरुको उम्मेदवारीको चर्चा पनि दैनिक सुनिन थालेको छ ।

यही भीडमा पर्छन्, नायक भूवन केसी पनि । भूवन केसीको राजनीतिक यात्रा सांसद हुन नपाएपछि महानगरपालिकामा आइपुगेको हो । उनलाई स्वागत नेपालको उन्नत लोकतन्त्र पार्टीले काठमाडौं महानगरपालिकाको मेयर पदमा उठाउने घोषणा गरिसकेको छ । योसँगै भूवन केसीको राजनीतिक यात्रा तरंगीत भैरहेको छ ।

नेपाली चलचित्र क्षेत्रमा लामो समय बिताएका भूवन केसी आम जनतामाझ पपुलर छन् । तर, चलचित्रको पर्दाबाट पपुलर हुनु र राजनीतिमा जनताको मन जित्नु एउटै कुरा होइन । बलिउडका कैयौ मै हँु भन्ने कलाकारले पनि राजनीतिमा घुँडा टेकेको उदाहरण यसअगाडि देखिसकिएको छ ।

यसैले, भूवन केसीले ल्याउने एजेन्डा, उनको पार्टीको पकड र जनताले उनीमाथि गर्ने विश्वासमा नै उनको महानगरको मेयर पदको कुर्सीमा बस्ने सपना पुरा हुनेछ । भूवन केसी चलचित्र निर्माण र अभिनयमा सफल भैसकेका छन् । राजनीतिक यात्राले उनको कद होचो नबनाओस्, हाम्रो सिनेमा टिमले भन्ने त यत्ती मात्रै हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *