अनमोल केसीः बक्स अफिसमा एक्लै चम्किएका स्टार

१६ वैशाख २०७९ ८:०२

आठौ चलचित्र ‘ए मेरो हजुर ४’ले ५.६ करोड ग्रस कलेक्शन गर्दै गर्दा नायक अनमोल केसी बक्स अफिसमा एक्लै चम्किएका स्टार जस्तो देखिएका छन् ।

यो चलचित्रले विषम परिस्थितीमा पनि निर्मातालाई मुनाफा दिनुको पछाडि अनमोलको स्टार पावरले काम गरेको छ । किनकी, हलमा आउने अधिकांश दर्शकले अनमोललाई नै हेर्न आएको प्रतिक्रिया दिएका थिए । दर्शकको वर्ड अफ माउथ मिश्रित पाउँदा पनि चलचित्रले बक्स अफिसमा सुखद कमाई गरिरहनुको पछाडि अनमोलले बनाएको स्टारडमले काम गरेको विश्लेषकहरु बताउँछन् । यसपटक, अनमोलको अभिनयको समेत तारिफ हुँदा चलचित्रका लागि सुनमा सुगन्ध देखिएको छ ।

अनमोल केसी बक्स अफिसमा एक्लै चम्किएका स्टार नायक हुन् । जसले, अभिनय गरेको पहिलो चलचित्र ‘होस्टेल’ले बक्स अफिसमा सुखद कमाई गरेको थियो । पहिलो चलचित्र नै चम्किएपछि दोश्रो चलचित्र ‘जेरी’ र तेश्रो चलचित्र ‘ड्रिम्स’ले अनमोललाई नयाँ उचाईमा पुर्याइदियो ।

चलचित्र रिलिजको समयमा मात्र बाहिर निस्कने यी स्टार नायक अरु समयमा मौन नै बसेको पाइन्छ ।

तर, चलचित्र रिलिजको समयमा बाहिर निस्कदा उनले दिने अन्तरवार्ता, उनको शैली र मानिसहरुलाई उनले गर्ने व्यवहारले दर्शकको मन जितेको छ । अनमोलले अभिनय गरेको ‘गाजलु, ए मेरो हजुर ३, ले पनि बक्स अफिसमा नाफाको व्यापार गर्यो ।

उच्च बजेट भएका कारण ‘कृ’ बक्स अफिसमा औषत देखिएपनि अनमोलको स्टार पावरले निर्मातालाई ठूलो घाटा भएन । ‘क्याप्टेन’ चलचित्रमा अनमोल फुटबल खेलाडीको रुपमा प्रस्तुत भए । जसले, बक्स अफिसमा लगानी बराबरीको व्यापार गर्यो । अनमोलले चलचित्रमा अभिनय गर्ने वित्तिकै उक्त चलचित्रको हाइप उच्च हुने गरेको पाइन्छ । यसको फाइदा निर्माताले पनि पाएका छन् ।

अनमोल आजसम्म बक्स अफिसमा एक्लै दौडिएका छन् । उनलाई, दर्शक हलसम्म तान्नका लागि नायिकाको स्टारपावरले पनि ठूलो साथ दिएको छैन । किनकी, उनले सबैजसो चलचित्रमा नयाँ नायिकासँग नै काम गरेका छन् ।

यसैले, बक्स अफिसमा नयाँ उचाई बनाउनका लागि अनमोलले अब टिमअपमा काम गर्न जरुरी छ । आफू एक्लैले चलचित्र बोक्न सक्छु भन्ने हिम्मत राख्नु त राम्रो कुरा हो, तर मलाई अरु किन चाहियो र भन्ने घमन्ड बोक्नु गलत हो ।

अनमोलले देशका चलेका निर्देशक, निर्माता, नायिका र ब्यानरसँग काम गरेको खण्डमा उनले नयाँ उचाई प्राप्त गर्नेछन् । तर, बक्स अफिसमा अनमोल चम्किएका छन् । ‘ए मेरो हजुर ३’ सम्म उनको अनुहार चम्किएको थियो, यसपटक उनको अभिनय पनि चम्किएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *