नायक पल शाह विगत केही सातादेखि जिल्ला कारागार तनहुँमा छन् । एक नाबालिका गायिकाले बलात्कारको आरोपमा उजुरी दिएसँगै पलको मुद्दा अदालतमा चलिरहेको छ । पललाई जिल्ला अदालत, तनहुँले पुर्पक्षका लागि थुँनामा राख्न आदेश दिएको थियो ।
यसपछि, पललाई जिल्ला कारागार, तनहुँमा राखिएको हो । तनहुँको कारागारमा रहेका पल शाहले पुस्तक पढेर आफ्नो समय बिताइरहेका छन् । पललाई भेट्न पुगेका चलचित्रकर्मीहरुका अनुसार, पलले कुनै पनि बिषयमा नलेख्ने बताएका छन् । उनले, सबैले थुनामा आएपछि लेख्नैपर्छ भन्ने नरहेको बताउँदै पुस्तक पढेर समय बिताउने गरेको जानकारी दिएको चलचित्रकर्मीहरुको भनाई छ ।
यस्तै, पलले आफूले डरलाग्दो समय बिताइसकेको भन्दै अब सुखद समय आउनेमा आशावादी रहेको समेत बताएका छन् । नाबालिका गायिका र उनका पिताले जिल्ला अदालत, तनहुँमा गरेको बकपत्रमा पलले बलात्कार नगरेको र आफूहरुले अरुको उक्साहटमा उजुरी दिएको बयान दिएका छन् । यसपछि, यो मुद्दा केही मोडिएको छ ।
पलले फेरि पनि आफू अभिनित चलचित्र ‘म यस्तो गीत गाउँछु २’ दर्शकमाझ बसेर हेर्ने चाहना व्यक्त गरेका छन् । थुना भित्रै खाने तथा पढ्ने पुस्तक पाइने भन्दै आफूले टेलिभिजन पनि हेर्ने गरेको पलले बताएका छन् ।