मुसलधारे पानीमा जब छविले भूवनलाई बाइकमा डबिङ गराउन लगे…

११ वैशाख २०७९ ६:३१

चलचित्र ‘नाता’का लागि भूवन केसीको मात्र डबिङ गर्न बाँकी थियो । निर्माता थिए छविराज ओझा । भूवन केसी यो चलचित्र बन्दासम्म स्टार भैसकेका थिए । एकदिन छविले भूवनलाई फोन गर्दै डबिङका लागि समय छुट्याएको बताए । भूवनलाई भने डबिङ गर्न जान अल्छी लागेको थियो ।

आफूले भोली बिहानै लिन आउने भन्दै छविले भूवनलाई जानकारी गराए । तर, भूवनले छविलाई डबिङ नराख्न आग्रह गरे, जुन छविले मानेनन् । राती विस्तारमा गैसकेपछि भूवनले भोली कुनै पनि हालतमा डबिङ गर्न नपाए हुन्थ्यो भन्दै कामना गरे । सायद, भूवनको कामना भगवान्ले पनि सुने होलान् । भोलीपल्ट बिहानैदेखि मुसलधारे पानी पर्यो ।

भूवन पनि यस्तो पानीमा त अब छवि आउँदैनन् होला भनेर विस्ताराबाट उठेनन् । केही समयपछि भूवनलाई खबर आयो, छवि त घरमा आइसके । भूवन छक्क परे । यस्तो पानीमा पनि किन आएका होलान् छवि भन्दै भूवन उठे र फ्रेस भए ।
फ्रेस भएर बाहिर निस्कनै लाग्दा भूवनले छविलाई सोधे–‘अनी खै त गाडी ?’ छविले बजारमा जती खोज्दा पनि ट्याक्सी नपाइएकाले आफू बाइकमै आएको र बाइकमा नै डबिङसम्म जानुपर्ने बताए । भूवन केसी झनै छक्क परे । यस्तो झरीमा रुझ्दै कसरी जाने त ? भूवनले छविलाई सोधे ।

छवि पनि के कम । छाता खोले र भने–‘तपाई पछाडि बसेर छाता ओड्नुहोस् र मलाई पनि ओडाउनुहोस् ।’ भूवन छविको बाइक पछाडि छाता ओडेर बसे । छविले डबिङ गर्ने स्थानसम्म भूवनलाई पुर्याए र डबिङ गरेरै छाडे । भूवन केसी र छविराज ओझाको यो किस्सा निक्कै गज्जबको थियो । उनीहरुविच यो मित्रता अहिले पनि कम भएको छैन । यो चलचित्र सुपरहिट भयो । चलचित्रबाट छविले राम्रै पैसा कमाए ।

अझ, रोचक कुरा के रहेछ भने यो चलचित्रलाई छविले ९९ दिनमै हलबाट उतारेका रहेछन् । किन त, भूवनले हाँस्दै भने–‘१०० दिन चल्यो भने कार्यक्रम गरेर अवार्ड बाड्नुपर्छ भनेर छविले ९९ दिनमै चलचित्र उतारेका थिए ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *