‘नाई नभन्नु ल ६’मा आँचल फाइनल, अनुभव नहुने

९ वैशाख २०७९ १०:२५

हिट सिरिज ‘नाई नभन्नु ल ६’मा नायिका आँचल शर्माले काम गर्ने पक्का भएको छ । निर्देशक विकासराज आचार्यले चलचित्रका लागि आँचल फाइनल भएको जानकारी दिए । उनले भने–‘आँचलसँग लिखित संझौता भएको छैन । तर, हाम्रो कथामा उनी नै हुने निश्चित छ । हामीले मौखिक रुपमा कुरा गरिसकेका छौं ।’ यो चलचित्रमा बाल–कलाकार अनुभव रेग्मी भने हुने छैनन् । अनुभवको उचाई पनि निक्कै बढेको र उनलाई बाल–कलाकारको रुपमा अभिनय गराउन अब गाह्रो हुने भएकाले यसपटक यो सिरिजमा उनी नहुने वुझिएको छ ।

चलचित्रलाई विकास र सामिप्यराज तिमिल्सिना मिलेर लेखिरहेका छन् । चलचित्रको छायांकन भदौमा गर्ने योजनामा विकास छन् । उनका अनुसार, यो बर्षको अन्त्यमा चलचित्र रिलिज हुनेछ । नायिका आँचल शर्माले चलचित्र ‘नाई नभन्नु ल ४’बाट यो क्षेत्रमा डेब्यू गरेकी थिइन् । चलचित्रमा एक जना मात्र नायिका हुने पनि विकासले बताए । आँचलले यो चलचित्रमा काम गर्नु अगाडि निर्देशक मिलन चाम्सको ‘वर एण्ड बधु’मा काम गर्दैछिन् ।

विकास र सामिप्यले यसअघि चलचित्रको कथा केही फरक लेखेका थिए । जसमा, कलाकार सेड्रिना शर्माको मुख्य भूमिका थियो । उनी ठूली भएपछि अर्की नायिकाले काम गर्ने गरी कथा लेखिएको थियो । तर, उक्त कथालाई परिवर्तन गरेर एक जना मात्र नायिका केन्द्रित चलचित्र बनाउन लागेको विकासले बताए । यसपटक सेड्रिना चलचित्रमा नहुने पनि विकासको भनाई छ ।

‘नाई नभन्नु ल’का अघिल्ला पाँचै सिरिज सुपरहिट भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *