अनमोलले भने–‘पूजासँग चाडै नै चलचित्र खेल्छु’(भिडियो कुराकानी)

७ वैशाख २०७९ १७:३२

नायक अनमोल केसी र नायिका पूजा शर्मा नेपाली चलचित्र क्षेत्रमा सर्वाधिक रुचाइएका कलाकार हुन् । यी दुईको फ्यान क्रेज पनि गज्जबको छ । नेपाली चलचित्र क्षेत्रमा एउटै समयमा प्रवेश गरेका यी दुईले आज गज्जबको क्रेज बनाएका छन् । तर, अनमोल र पूजाले एकसाथ चलचित्रमा काम भने गरेका छैनन् ।

पूजाको सर्वाधिक हिट चलचित्र ‘प्रेमगीत’ पनि नायक अनमोल केसीलाई नै अफर गरिएको थियो । तर, अनमोलले विविध कारणले चलचित्रमा काम नगरेपछि प्रदीप खड्का यो चलचित्रमा भित्रिएका थिए । नायक अनमोल केसी र नायिका सुहाना थापा अभिनित चलचित्र ‘ए मेरो हजुर ४’ हेर्नका लागि हल पुगेकी नायिका पूजा शर्माले चलचित्र उत्कृष्ट बनेको बताइन् । साथै, उनले अनमोल र सुहानाको कामको पनि प्रशंसा गरिन् ।

एकसाथ काम गर्न नसकेको बिषयमा पूजाले भनिन्–‘खै, हाम्रो के जुर्दैन जुर्दैन । नजुरेसम्म एकसाथ काम नहुने रहेछ । प्रेमगीत पनि मैले अनमोललाई नै अफर गरेको थिएँ । मेरो हरेक चलचित्रको पहिलो अफर अनमोललाई नै जान्छ ।’

नायक अनमोल केसीले चलचित्रमा एकसाथ काम गर्ने आफ्नो पनि इच्छा भएको भन्दै चाडै नै दर्शकको चाहना पुरा हुने बताए । अनमोलले भने–‘हामी चाडै नै चलचित्रमा काम गर्छौ । चलचित्रमा पूजा मेरो प्रेमीकाको भूमिकामा नै हुनेछिन् ।’

अनमोलले पूजालाई स्टार भन्दै उनीबाट आफू प्रभावित भएको पनि सुनाए । शुक्रबारदेखि रिलिज भएको चलचित्र ‘ए मेरो हजुर ४’ले बक्स अफिसमा सुखद कमाई गरिरहेको छ । चलचित्रले पहिलो साताको ३ दिन बम्पर कमाई गरेको थियो भने सोमबारदेखि पनि चलचित्रको व्यापार कमजोर बनेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *