सकारात्मक रुपमा बदनाम भएपनि गुमनाम हुनु हुँदैनः प्रियंका कार्की(भिडियो अन्तरवार्ता)

६ वैशाख २०७९ ११:४७

छोरीलाई जन्म दिएको ८ महिनापछि नायिका प्रियंका कार्की नयाँ चलचित्र ‘लक्का जवान’को प्रमोशनमा दौडिरहेकी छिन् । वैशाखको २३ गतेबाट रिलिज हुने यो चलचित्रका लागि समय दिइरहेकी प्रियंका आमा बनेपछि आफूमा खासै परिवर्तन नआएको बताउँछिन् । उनले भनिन्–‘आमा बनेपछि जिम्मेवारी त महशुश भैहाल्छ । सिंगो परिवारलाई आफूले लिएर अगाडि बढ्नुछ भनेपछि जिम्मेवारी बोध हुन्छ । तर, ममा धेरै परितर्वन आएको छैन ।’

प्रियंका गसिपमा रमाउने नायिका हुन् । उनको तस्वीर र क्रियाकलापले बजारमा चर्चा पाइरहन्छ । लकडाउनको समयमा पनि प्रियंकाका तस्वीरले बजारमा खुबै चर्चा पाए । के गसिप सिर्जना गर्न प्रियंका माहिर छिन् त, भनिन्–‘म आफै सिर्जना गर्दिनँ । म विन्दास छु र मलाई केही कुरा बोल्न डर लाग्दैन । मैले गर्भवती हुँदा पनि कुनै कुरा लुकाइनँ । बच्चा पाइसकेपछि पनि मैले केही कुरा लुकाउन चाहिनँ ।’

उनले, कि त पपुलर नै हुन नहुने तर पपुलर भैसकेपछि आलोचनाहरु पचाउन सक्नुपर्ने तर्क गरिन् । भनिन्–‘मेरो बुबाले मलाई नाम होसु, बदनाम होस् तर गुमनाम नहोस् भन्नुहुन्थ्यो । पक्कै पनि, बाबाले गलत तरिकाले बदनाम होस् भन्न खोज्नुभएको त होइन होला । यदि, कसैले तपाइको बारेमा चासो राख्छ र समाचार पढ्छ भने तपाई हिट हो ।’

प्रियंकाले आफूलाई मिडियाले कहिले पनि गुमनाम हुन नदिएको भन्दै यसको डर नभएको तर्क गरिन् । आफूलाई हरेक समुहका मानिसले मन पराउने भएकाले पनि आफू नहराएको उनको भनाई छ । नायिका कार्कीले आफूले अब चलचित्र क्षेत्रमा नयाँ तरिकाले अगाडि बढ्ने बिषयमा सोचेको पनि बताएकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *