चलचित्र विकास बोर्डले आइतबार वितरण गरेको ‘राष्ट्रिय चलचित्र पुरस्कार तथा दिर्घ साधना सम्मान’ लिन पुगेका अधिकांश चलचित्रकर्मी त्यतिबेला अचम्ममा परे, जतिबेला सम्मानित हुने भन्दै २ दर्जन बढीलाई सम्मान पत्र वितरण गरियो । राष्ट्रपतिको हातबाट वितरण गरिएको सम्मानको प्रतिष्ठा अन्य सम्मान भन्दा बेग्लै हुन्छ ।
तर, अध्यक्ष दयाराम दाहालले सम्मानलाई पनि हलुका रुपमा लिइदिए । यतिसम्म कि, उनले सम्मान कसलाई दिने र किन दिने भन्ने प्रश्नको समेत ख्याल गरेनन् । बरु, आफूले करिअर सुरु गर्दादेखि आजसम्म नजिक भएका र काम गरेका अधिकांश चलचित्रकर्मीलाई सम्मान वितरण गरिदिए । जसलेगर्दा, बोर्डले वितरण गरेको सम्मान खल्लो देखियो ।
सम्मानित भएका केही चलचित्रकर्मीले धेरैलाई एउटै स्थानमा सम्मान गर्दा यसको इज्जत कम भएको प्रतिक्रिया दिएका छन् । कतिपयले भने अध्यक्षले जन्मदिनमा चलकेटी वितरण गरे जसरी सम्मान वितरण गरेको भन्दै आलोचना गरेका छन् ।
विकास बोर्डले यो बर्ष दिएको पुरस्कार खासै विवादित बनेन । तर, बोर्ड अध्यक्षले सबैसँग राम्रो सम्बन्ध बनाउनका लागि सम्मानलाई नै हलुका बनाउने काम गरेका छन् ।