अवार्ड कार्यक्रममा नजाने भनेका दीपकराज पुरस्कार लिन राष्ट्रपति भवन किन पुगे ?

४ वैशाख २०७९ १३:१२

निर्माता, नायक तथा लेखक दीपकराज गिरीले आज राष्ट्रपति भवन शितल निवासमा आयोजित ‘राष्ट्रिय चलचित्र पुरस्कार’मा उत्कृष्ट अभिनेताको अवार्ड थापे । वि.सं २०७६ सालमा निर्मित चलचित्र ‘छ माया छपक्कै’बाट उनले उत्कृष्ट अभिनेताको अवार्ड थापेका हुन् । यही चलचित्रबाट छायांकार हरि हुमागाँईले पनि राष्ट्रिय पुरस्कार प्राप्त गरे । राष्ट्रपति विद्यादेवी भण्डारीको हातबाट उनले अवार्ड ग्रहण गरेका थिए ।

तर, विगत केही बर्षदेखि अवार्ड कार्यक्रममा नै नजाने भनेर बहिष्कार गरेका दीपकराज राष्ट्रपति भवनमा भने किन पुगे ? धेरैले यो प्रश्न सोझाउन सक्छन् ।

यो बिषयमा कुराकानी गर्दै दीपकले भने–‘मलाई जहाँ सहज लाग्छ, म त्यही नै जाने हो । राष्ट्रपतिले नै निम्ता गरिसकेपछि नआउने भन्ने कुरा हुँदैन । मैले, अन्य आयोजकले गर्ने अवार्ड कार्यक्रममा अवार्ड पाउँदा आफू उपस्थित नभएपनि अवार्डलाई भने सजाएर राखेको छु ।’

दीपकराजले राष्ट्रले दिएको अवार्ड भएकाले आफू पुगेको तर्फ संकेत गरेका छन् । तर, ‘छ माया छपक्कै’बाट उत्कृष्ट अभिनेताको राष्ट्रिय पुरस्कार पाएर दीपकले आलोचकको बोली भने बन्द गरिदिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *