अनमोल र पूजाको प्रचार शैलीबाट अरु कलाकारले के सिक्ने ?

४ वैशाख २०७९ ५:५४

चलचित्र ‘चपली हाइट ३’का निर्माता स्वस्तिमा खड्कासँग खुबै रिसाए । निर्माता अर्जुन कुमारले चलचित्र रिलिजको समयमा नायिकाले सहयोग नगरेको भन्दै आक्रोशित बने । स्वस्तिमाले चलचित्रका लागि खासै सहयोग गरिनन् । प्रचारमा त उनी हिड्दै हिडिनन् । अर्जुन कुमारले नायिकालाई गाली गरे । चलचित्रले व्यापार पनि राम्रो गरेन ।

निर्देशक एभरेष्ट सूर्य बोहराले नायिका प्रियंका कार्की र दीपिका प्रसाँईलाई ‘हेल्लो जिन्दगी’को प्रचारमा नहिडेको भन्दै गाली गरे । महंगो पारिश्रमिक दिएर पनि चलचित्रलाई साथ नदिएको भन्दै उनले नायिकाहरुमाथि आक्रोश पोखे ।
नेपाली चलचित्रका कलाकारहरु आफ्नो प्रोजेक्टका लागि लागिपर्नुपर्छ, चलचित्र चलेको खण्डमा फाइदा आफूलाई पनि हो भन्ने कुराबाट कहिलेकाही टाढा बस्न खोज्छन् । जसको घाटा उनीहरुलाई त हुन्छ नै, निर्मातालाई झनै बढी हुन्छ ।

तर, चलचित्र प्रचारमा दिनरात नभनी कुद्ने कलाकार पनि छन् । नायिका पूजा शर्माले चलचित्रको मात्र होइन, म्यूजिक भिडियोको प्रचारका लागि पनि आफ्नो समय मज्जाले दिन्छिन् । चलचित्र ‘म यस्तो गीत गाउँछु २’का लागि पूजाले दिएको समय र प्रचार शैली अन्य कलाकारका लागि पाठ थियो ।

देश दौडाहादेखि, आफै हलमा पुगेर कुरा गर्न पनि पूजाले भ्याइन् । नायक पल शाह प्रहरीको हिरासतमा पुगेपछि त झन् पूजाले एक्लै चलचित्रको प्रचार सम्हालिन् । कतिपयले आफ्नो ब्यानरको चलचित्रका लागि मात्र पूजाले समय दिने गरेको आरोप लगाउँछन् । तर, चलचित्रच ‘पोई पर्यो काले’लाई पूजाले आफ्नो काँधमा एक्लै बोकेर हिडेकी थिइन् । जेठ ६ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘संझना विर्सना’का लागि पनि पूजाले पुरा समय दिने वाचा गरिसकेकी छिन् ।

नायक अनमोल केसी पनि चलचित्र रिलिजको समयमा चलचित्रलाई पूर्ण समय दिने कलाकारमा पर्छन् । चलचित्र ‘ए मेरो हजुर ४’का लागि अनमोलले एक महिनाको समय दिए । चलचित्रको प्रचारदेखि रिलिज भैसकेपछि हल–हलमा कुद्ने काममा अनमोल व्यस्त बने । दिनरात नभनी अनमोलले गरेको मिहिनेतले चलचित्रको इनिसियल व्यापारमा ठूलो मद्दत मिल्यो ।

कतिपय कलाकार चलचित्रको प्रचारमा झारा टार्छन् । कतिपय भने चलचित्रलाई नै काँधमा बोकेर हिड्छन् । पूजा, अनमोल जस्ता कलाकारबाट अरुले पनि सिक्न जरुरी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *