‘ए मेरो हजुर ४’ले बाध्यो ‘बिरालाको घाटीमा घन्टी’

३ वैशाख २०७९ १३:०५

तपाइले मुसाको कथा त सुन्नु भएकै होला । बिरालोबाट आजित भएका मुसाहरुको भेलाले बिरालोको घाटीमा घन्टी बाँध्ने निर्णय त गर्छन्, तर कसले गएर यो काम गर्ने भन्नेमा हिम्मत गर्न सक्दैनन् । नेपाली चलचित्र क्षेत्रमा पनि यस्तै भएको थियो ।

ठूलो विदेशी चलचित्र आउँदा विरोध त गर्ने, तर जुध्ने हिम्मत कसैले गर्न नसक्ने रोगबाट ग्रसित थियो नेपाली चलचित्र क्षेत्र । बरु, विदेशीसँग भागेर आफ्नै देशको चलचित्रसँग जुध्न तयार हुन्थे निर्माता । तर, यसपटक भने बिरालाको घाटीमा घन्टी वैशाख १ गतेबाट रिलिज भएको चलचित्र ‘ए मेरो हजुर ४’ले बाँधिदिएको छ ।

विश्व बजारमा १० हजार हलमा रिलिज भएको र क्रेजको उत्कर्षमा पुगेको यो चलचित्रसँग एकैदिनमा रिलिज हुने आँट गर्न कमैले मात्र सक्छन् । निर्देशक झरना थापा र निर्माता सुनिल कुमार थापाले यो आँट गरे । यदि, अरु कुनै मितिमा नेपाली चलचित्र रिलिज गरिएको भए व्यापारिक रुपमा अझै धेरै रकम सुनिल र झरनाले कमाउथे । तर, उनीहरुले नेपाली चलचित्रले पनि ठूला विदेशी चलचित्रसँग टक्कर दिन सक्छन् भन्ने उदाहरण पेश गरेका छन् ।

नायक अनमोल केसीले आफ्नो स्टारडम फेरि एकपटक प्रमाणित गरेका छन् । अनमोलको चलचित्रमा लगानी गर्न निर्माता किन मरिहत्ते गर्छन् र उनका लागि लाखौं पारिश्रमिक खर्च गर्न किन तयार हुन्छन् भन्ने प्रमाणित उनले गरेका छन् । अनमोलले यसपटक अभिनय नै गर्न आउँदैन भनेर लाग्दै आएको आरोपलाई समेत चिर्ने प्रयास गरेका छन् ।

आगामी दिनमा नेपाली चलचित्र राम्रो बनाएको खण्डमा, चलचित्रको हाइप बनाउन सकेको खण्डमा विदेशी चलचित्रसँग भाग्नुपर्दैन भन्ने उदाहरण बनेको छ । यसका लागि सुनिल, झरना, अनमोल र सुहाना थापालाई बधाई दिनुपर्छ । संभवत, आगामी दिनमा नेपाली चलचित्रका निर्माताले विदेशी चलचित्र आयो भन्दैमा आफ्नो प्रदर्शन मिति धकेल्ने चेष्टा गर्दैनन् होला ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *