‘ए मेरो हजुर ४’को बम्पर व्यापारपछि अनमोलले भने–‘खाली पोष्टमा गोल हान्दा मज्जा छैन’

३ वैशाख २०७९ ११:५०

झरना थापाको निर्देशनमा तयार भएको चलचित्र ‘ए मेरो हजुर ४’ले रिलिजको ३ दिने विकेन्डमा बम्पर व्यापार गरेको छ । यो चलचित्रले ३ दिनमा गरेको व्यापारको कुल आँकडा सार्वजनिक भएको छैन । तर, चलचित्र देशैभरका हलमा पाएका सबै शोमा हाउसफूलका साथ चलिरहेको छ ।

शुक्रबार मध्यान्न १२ बजेसम्म केही कम दर्शक देखिएपनि त्यसपछि दर्शकको उपस्थिती बाक्लो देखिएको थियो । शनिबार भने बिहानैदेखि हलमा दर्शकको उपस्थिती उच्च देखियो ।

विशेषगरि, यसपटक यो चलचित्रलाई प्रदर्शकहरुले सहयोग गरेनन् । देशैभरका प्रदर्शकहरुले साउथको हिन्दी डब चलचित्रलाई बढी महत्व दिदा ‘ए मेरो हजुर ४’लाई समस्या पर्यो । तर, त्यसका बाबजुत पनि चलचित्रले ३ दिनमा उच्च व्यापार गर्यो । प्रदर्शकले नेपाली र विदेशी चलचित्रमा पक्षपात नगरेको भए यो चलचित्रको व्यापार अझै उच्च हुने निश्चित थियो ।

साउथको हिन्दी डब चलचित्र ‘केजीएफ २’सँगको भिडन्तमा पनि कमजोर नबनेपछि अनमोलले प्रतिक्रिया दिदै भने–‘निश्चय पनि हामीसँग विश्वमै उच्च क्रेज बनाएको चलचित्र थियो । तर, यसपटक हामीलाई दर्शकले माया र साथ दिनुभएको छ । खाली पोष्टमा गोल गर्नुको मज्जा छैन । गोलकिपर भएको पोष्टमा गोल गर्दा बल्ल पो च्याम्पियन भइन्छ ।’

वितरक गोविन्द शाहीले काठमाडौं बाहिरका केही हलले चलचित्रलाई असहयोग गरेको बताए । शुक्रबार चलचित्रले हाउसफूलको व्यापार गर्दा पनि शनिबार यो चलचित्रको शो केही हलले घटाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *