चम्कियो अनमोलको स्टारडम, पहिलो दिन ‘ए मेरो हजुर ४’ले कमायो ८० लाख

२ वैशाख २०७९ ९:५२

बिहिबार नयाँ बर्षको दिन नेपाली चलचित्र ‘ए मेरो हजुर ४’ले आक्रामक ओपनिङ गरेको छ । साउथको हिन्दी डब चलचित्र ‘केजीएफ २’को सुनामी कलेक्शनका बाबजुत पनि यो चलचित्रले काठमाडौंमा ४५ लाखको आसपासको ग्रस कलेक्शन गरेको छ ।

यस्तै, यो चलचित्रले काठमाडौं बाहिर ३५ लाख हारहारीको ग्रस कलेक्शन गरेको वितरक गोविन्द शाहीले बताए । उनले भने–‘हामीले सिमित शो पाएका थियौं । तर, देशभर मल्टिप्लेक्स हलको बृद्धि हुँदाको फाइदा चलचित्रले उठाएको छ । पाएका सबै शोजहरु हाउसफूल छन् । यसैले, चलचित्रले सुखद ओपनिङ गर्न सफल भयो ।’

चलचित्रले शुक्रबार पनि राम्रो कलेक्शन गर्ने छनक दिएको छ । शुक्रबार मध्यान्न १२ बजेसम्म चलचित्रको व्यापार औषत थियो । तर, १२ बजेपछि भने चलचित्र हेर्ने दर्शकको संख्या ह्वात्तै बढेको छ । शनिबार बिदाको दिन यो चलचित्रले आक्रामक कलेक्शन गर्ने निश्चित छ । वर्ड अफ माउथ सुखद भएकाले पनि चलचित्रले लामो समयसम्म दर्शकको साथ पाउने देखिएको छ ।

झरना थापा निर्देशित यो चलचित्रलाई सुनिलकुमार थापाले निर्माण गरेका हुन् । चलचित्रमा अनमोल केसी, सुहाना थापा, सलोन बस्नेतको मुख्य भूमिका छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *