‘केजीएफ २’को टिकट मध्यरातमा बेच्ने हललाई कारवाही गरिने

२ वैशाख २०७९ ८:३५

नेपालका चलचित्र भवनहरुले कतीसम्म लापरवाही र बदमासी गर्दै राज्यको नियमलाई समेत उल्लंघन गर्छन् भन्ने उदाहरण बिहिबार बिहान देखियो । बिहिबारबाट रिलिज भएको साउथको हिन्दी डब चलचित्र ‘केजीएफ २’को टिकट बेचेर पैसा कमाउने धुनमा केही हलले राज्यको नियमलाई नै तोडिदिए ।

काठमाडौंको एफक्यूब, बीग मुभिज र बीएसआरले चलचित्र विकास बोर्डसँग अनुमती नै नलिई मध्यरातमा शो थपेका थिए । एफक्यूबले त टिकटमा रकम नै उल्लेख नगरी टिकट वेचेको थियो ।
रातको १ बजे शो थपेर विना सुरक्षा मदिरा सेवन गरेका यूवाहरुलाई समेत प्रवेश गर्न दिई हलले चलचित्र लगाएको थियो । यस्तै, केही हलले अनुमती नलिई शो थपेर चलचित्र देखाएका थिए । चलचित्र विकास बोर्डले शुक्रबार राजस्व अनुसन्धान विभाग तथा जिल्ला प्रशासन कार्यलयलाई पत्र लेख्दै तीनै हलमाथि छानबिन गरी कारबाही प्रक्रिया अगाडि बढाउन आग्रह गरेको हो ।

विकास बोर्डका सदस्य तथा हल अनुगमन समितीका संयोजक अर्जुन कुमारले नियम तोडेर चलचित्र चलाउने सबै हललाई कारबाही हुने बताए ।

यस्तै, चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले यो घटनालाई गम्भिर रुपमा लिदै हल विरुद्ध कारबहाीका लागि राजस्वलाई अनुरोध गरिएको बताएका छन् । कर छली गरेको पाइएमा राजस्व अनुसन्धान विभागले हल बन्द गर्ने तथा तत्काल जरिवाना गर्न सक्ने व्यवस्था समेत गरिएको छ । राजश्वले सामान जफ गर्ने र ५ लाख बराबरको जरिवाना तिराउन सक्ने पनि व्यवस्था छ ।

नेपाली चलचित्रलाई कम शोमा खुम्च्याएर नेपाल भित्रकै हलहरुले विदेशी चलचित्रलाई उल्लेख्य शो दिदै मनोमानी गरिरहेका छन् । यस बिषयमा चलचित्र विकास बोर्डले एक्सन नलिने हो भने यो लापरवाही आगामी दिनमा झनै बढ्ने निश्चित छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *