दीपकले अनमोललाई भने–‘तिम्रो नम्र बानी मन पर्यो, अगाडि बढ्नु’

१ वैशाख २०७९ ५:१४

चलचित्र क्षेत्रमा नायक अनमोल केसीको स्टारडम एकातिर र कलाकार दीपकराज गिरीको स्टारडम अर्कोतिर छ । अझ भनौ, यी दुईलाई राखेपछि चलचित्र चल्छ भन्ने सोचाई निर्मातामा छ । आजसम्म यो देखिएको पनि छ । आफ्नो स्टारडमका कारण चलेका अनमोल केसी र कथावस्तु र अभिनयका कारण चलेका दीपकराज गिरी एउटै क्षेत्रमा रहेपनि, दुई सोचका कलाकार हुन् ।

यसैले, कतिपयलाई लाग्न सक्छ कि दीपक र अनमोलविच सुमधुर सम्बन्ध छैन । तर, बुधबार आयोजना भएको चलचित्र ‘ए मेरो हजुर ४’को प्रिमियरमा दीपकराज उपस्थित हुँदा सबै छक्क परे । अझ, खुशी त नायक अनमोल केसी भए । दीपकलाई देखेपछि नमस्कार गर्दै अनमोलले भने–‘तपाई आउनुभयो, एकदमै खुशी लागेको छ । तपाई जस्तो सफल मानिसको साथ पाउँदा खुशी लाग्यो ।’

दीपकले अनमोलको नम्र स्वभाव मन परेको प्रतिक्रिया दिए । दीपकले अनमोललाई भने–‘मैले तिमीलाई कमेडी क्लब विथ च्याम्पियन्समा हेरेको थिएँ । तिम्रो नम्र स्वभाव मलाई मन पर्यो । सधै यसैगरि अगाडि बढ्नु ।’

चलचित्र क्षेत्रमा बेलाबखत दीपक र अनमोलले एउटै चलचित्रमा सहकार्य गर्न लागेको खबर पनि सार्वजनिक नभएका होइनन् । तर, यो अझै पनि संभव हुन सकेको छैन । तर, चलचित्र क्षेत्रलाई एकजुट भएर अगाडि बढाउनका लागि दीपक र अनमोल जस्ता स्टार कलाकारहरुले एकसाथ काम गर्न आवश्यक छ । दीपक र अनमोलको यो भेटले पक्कै पनि त्यो वातावरण बनाउने अपेक्षा गर्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *