फिल्मीकर्मीमाथि झरनाको आक्रोश, लेखिन्–‘काल पल्किएको हेक्का राख्नुहोला’

२९ चैत २०७८ १५:४१

‘केजीएफ २’को आक्रामक बुकिङले वैशाख १ गतेबाट रिलिज हुन लागेको नेपाली चलचित्र ‘ए मेरो हजुर ४’को व्यापार कस्तो हुने हो भन्ने आँकलन चलचित्र वृत्तमा चलेको छ । यो बहसले दर्शकलाई पनि छाडेको छैन ।

यसैविच, ‘केजीएफ २’को बुकिङ आक्रामक हुँदा ‘ए मेरो हजुर ४’को प्रदर्शन मिति पोष्टपोन्ड हुन्छ भन्ने हल्ला समेत केही चलचित्रकर्मीहरुले गरेका छन् । तर, चलचित्रकी निर्देशक तथा नायिका झरना थापाले भने पूर्वघोषित मिति अर्थात वैशाख १ मा नै चलचित्र रिलिज हुने बताएकी छिन् । उनले, आफूहरुलाई दर्शकले सुरुवातदेखि नै माया दिएको भन्दै दर्शक नै पहिलो र अन्तिम तागत भएको पनि विश्वास लिएकी छिन् ।

झरना र सुहानासँग गरिएको भिडियो कुराकानी यहाँ हेर्न सक्नुहुनेछः

उनले, जस्तोसुकै परिस्थिती आएपनि ‘ए मेरो हजुर ४’को प्रदर्शन मिति पछि नसर्ने स्पष्ट पारेकी छिन् । झरनाले लेखेकी छिन्–‘चाहे जस्तोसुकै परिस्थिती आओस्, हामीले रोजेको र तोकेको मैदान छाडेर एकरत्ती पनि पछि हटेका छैनौ । यसमा नेपाली चलचित्रको भलो नचाहनेहरु ढुक्क भए हुन्छ । हाम्रो चलचित्र सम्पूर्ण हलहरुमा पुगिसकेको छ ।’

झरनाले आजको दिनमा बिदेशी चलचित्रसँग आफूहरु एक्लै लड्ने अवस्था आएपनि भोलीका दिनमा अन्य चलचित्रकर्मीले पनि लड्नुपर्ने अवस्था आउने चेतावनी दिएकी छिन् । उनले लेखेकी छिन्–‘वुढी मरी भन्दा पनि काल पल्किएको हेक्का राख्नु हुन मेरो बिनम्र अनुरोध छ । चलचित्रकर्मी मित्रहरु, आज हामीलाई झम्टिने चितुवाले भोली तपाइलाई पनि बाँकी राख्छ त ? यो तथ्यलाई विचार गर्नुहोला ।’

उनले, बाँकी फैसला दर्शकले नै गर्ने बताएकी छिन् । सुनिल कुमार थापा निर्मित चलचित्रमा अनमोल केसी, सुहाना थापा, सलोन बस्नेत लगायतका कलाकारको मुख्य भूमिका छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *