‘केजीएफ २’को सुनामीमा ‘ए मेरो हजुर ४’ले बुनेको बाँध

२९ चैत २०७८ ४:४४

 

‘पुष्पा, आरआरआर’ र वैशाख १ गतेबाट रिलिज हुन लागेको साउथको हिन्दी डब चलचित्र ‘केजीएफ २’को सुनामीले नेपाली चलचित्रको अस्तित्वलाई बगाउला या, नेपाली चलचित्रकर्मीले बलियो बाँध बनाउन सक्लान् ? यो बर्ष बिदाई गर्दै गर्दा खडा भएको सबैभन्दा ठूलो प्रश्न यही नै हो ।

कुनै समय बलिउड चलचित्र देखेपछि भागाभाग गर्ने र आफ्नै चलचित्रसँग जुध्नुपर्ने अवस्था नेपाली मेकरमा थियो । तर, कोरोना महामारीपछिको अवस्था परिवर्तन भयो । अब, बलिउडले नेपाली चलचित्रमा कस्तो दबदबा कायम गर्न सक्ला, आगामी दिनमा विश्लेषण गरौला । तर, साउथका हिन्दी डब चलचित्रले नेपाली चलचित्रमाथि नमिठो धावा बोलेका छन् ।

‘पुष्पा’का कारण ‘चपली हाइट ३’ भाग्नुपर्ने अवस्था आयो । ‘आरआरआर’को भेलले ‘चिसो एष्ट्रे र हेल्लो जिन्दगी’लाई खोज्नै नसकिने गरी बगायो ।

अब, आउँदो बर्षको सुरुवातमै सर्वाधिक ग्रस कमाई गर्दै नेपाली चलचित्र क्षेत्रमा खुशी फर्काउला भनेर सोचिएको नायक अनमोल केसी र नायिका सुहाना थापा स्टारर चलचित्र ‘ए मेरो हजुर ४’ले बनाएको बलियो बाँध ‘केजीएफ २’को सुनामीले हल्लाइरहेको छ तर भत्काइसकेको छैन ।

मल्टिप्लेक्समा रंगियो ‘केजीएफ २’

देशकै ठूलो चेन मानिएको क्यूएफक्सले बिहिबार नयाँ बर्षको दिन ‘केजीएफ २’लाई ८५ शो दिएको छ । तर, ८५ शोमध्येबाट पनि दर्शकले टिकट पाउन आइतबार नै पर्खिनुपर्ने अवस्था छ । ८५ शो रातो घेरामा घेरिएका छन् । अर्थात, सोल्ड आउट टिकट ।

शुक्रबार र शनिबारको हालत पनि यो भन्दा कम छैन । चलचित्र हेर्नका लागि मंगलबार वा बुधबार टिकट काटौला भनेर सोच्ने दर्शकले आइतबारसम्म अरुको मुखबाट मात्र चलचित्रको बारेमा सुन्नुपर्ने अवस्था छ । यही अवस्था विग मुभिज, वान सिनेमाज्, क्यूजमा पनि देखिएको छ । अर्थात, यो चलचित्रले बक्स अफिसमा सुनामी ल्याउने पक्का छ ।

‘केजीएफ’ले नेपालमा सुखद कमाई गरेको र यसको सिक्वेल दर्शकको प्रतिक्षामा रहेकाले पनि यस्तो अवस्था आएको हो ।

‘ए मेरो हजुर ४’को डगमगाएको बाँध

चलचित्र ‘ए मेरो हजुर ४’को यो समाचार तयार पार्दासम्म देखिएको बुकिङ हेर्दा, इनिसियल बम्पर नहुने देखिएको छ । हुनत, नेपाली चलचित्रको टिकट शुक्रबार सिधै हलमा गएर काट्ने दर्शकको संख्या बढी भएकाले पनि हरियो घेरा बढी देखिएको हुनसक्छ । तर, निर्माता सुनिल कुमार थापा, निर्देशक झरना थापा, नायक अनमोल केसी, नायिका सुहाना थापा र यो चलचित्रको टिमले नेपाली चलचित्रको अस्तित्वको लागि लडेको लडाई भने प्रशंसायोग्य छ ।

किनकी, अधिकांश चाडपर्व र नयाँ बर्ष पनि विदेशी चलचित्रलाई नै सुम्पने हो भने नेपाली चलचित्र बनाउनुको अब अर्थ रहदैन । निर्माता सुनिलकुमार थापाले ‘प्रदर्शक र दर्शक पनि नेपाली भएकाले नेपाली चलचित्रलाई माया गर्नुहुन्छ’ भनेर राखेको विश्वासमा भने तुषारापात हुने संकेत देखिएको छ ।

तर, आउँदो बर्षको वैशाख महिनाभर ‘केजीएफ २ र ए मेरो हजुर ४’ले अन्य चलचित्रका लागि हल छाडिहाल्नुपर्ने अवस्था छैन । यसको फाइदा ‘ए मेरो हजुर ४’ले लिनसक्छ । दर्शकले पनि ‘केजीएफ २’लाई पहिलो रोजाई बनाएर दोश्रो रोजाइमा नेपाली चलचित्र हेर्ने मनस्थिती बनाएका छन् भने ‘ए मेरो हजुर ४’का निर्माताले ठूलो तनाव लिनुपर्ने अवस्था नआउन सक्छ ।

तर, विदेशी चलचित्रसँग भागिरहने नेपाली चलचित्रकर्मीको परिपाटीमा सुनिलकुमार थापा र उनको टिमले देखाएको हिम्मत र साहसलाई भने मुक्तकण्ठले प्रशंसा गर्न सकिन्छ ।

विजय सुवेदी ‘आवाज’

Leave a Reply

Your email address will not be published. Required fields are marked *