के पुष्प र केकी अवार्ड पाउने थाहा पाएरै धुलिखेल पुगेका थिए ?

२७ चैत २०७८ १६:०३

शिर्षक पढ्दा तपाइलाई अनौठो लाग्यो भने नमान्नुहोस् । किनकी, नेपाली चलचित्र वा म्युजिक भिडियोको अवार्डमा जसले जित्छ उही मात्र पुग्छ, या जो पुग्छ उसले नै अवार्ड पाउँछ भन्ने सिद्धान्त लागू भैरहेको छ । अवार्ड किन र कसका लागि गर्ने भन्ने कुरा पनि पुष्टी हुन छाडेको छ ।

शनिबार आयोजना भएको ‘१२ औं डी सिने अवार्ड’मा नायक पुष्प खड्का र नायिका केकी अधिकारी पुगे । अन्य कलाकारको खडेरी नै लागेको अवार्ड समारोहमा यी दुई मात्र कलाकार देख्दा, अधिकांशले यी दुइले नै अवार्ड पाउँदैछन् भन्ने अड्कल लगाए । आखिर भैदियो पनि यस्तै ।

पुष्पले चलचित्र ‘मारुनी’बाट उत्कृष्ट नायकको अवार्ड जित्दा केकीले ‘छ माया छपक्कै’बाट उत्कृष्ट नायिकाको अवार्ड जितिन् । अवार्ड सकिएपछि हिट नेपाल र हाम्रो सिनेमासँग कुराकानी गर्दै केकीले भनिन्–‘अवार्ड नै पाउँछु भन्ने त थाहा थिएन । तर, धुलिखेलमा अवार्ड नै नपाएपनि शनिबारको दिन घुमघाम पनि हुन्छ भनेर आएकी हुँ ।’

पुष्पले पनि आफूलाई एक पटक मात्र फोन आएको र आउनै पर्छ भनेर नभनिएकाले पाउँछु भन्नेमा ढुक्क नभएको तर्क गरे । तर, केकीले पुष्पलाई देखेपछि अवार्ड पाउने पक्का भएरै आएका रहेछन् भनेर सोचेको भन्दै ठट्टा गरिन् ।

केकी र पुष्प अवार्ड नै पाउँछु भनेर पुगेका थिए वा थिएनन्, यो उनीहरुले नै जान्ने कुरा भयो । तर, अवार्ड पाउने पक्का नभएसम्म कलाकारहरु अवार्डमा पुग्न छाडेको कुरा भने सत्य हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *