यो वर्ष बक्स अफिसमा १३ करोड बढी कमाउँदै ब्लकबस्टर बनेको सिनेमा ‘आ बाट आमा’को सिरिज निर्माण हुँदैछ । सिनेमाको छायांकन वैशाखबाट सुरु गर्ने तयारी निर्माणपक्षको छ ।
निर्देशक चन्द्र पन्तले सिनेमाका लागि कलाकारहरु धमाधम फाइनल गरिरहेका छन् । यो सिनेमामा नायक पल शाह र नायिका विपना थापालाई कागजी संझौता गरिएको छ । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा पल र विपनाले सिनेमाका लागि औपचारिक संझौता गरे । अन्य, कलाकार को को हुने भन्ने बिषयमा केही पनि सार्वजनिक गरिएको छैन ।
सिनेमामा ‘आ बाट आमा’का मुख्य नायिकाहरु सिम्रन पन्त र उषा उप्रेतीले निरन्तरता पाउँछन् या पाउँदैनन् भन्ने बिषयमा केही पनि खोलिएको छैन । सिनेमामा पल छोराको भूमिकामा देखिदैछन् भने विपनाले आमाको भूमिका निर्वाह गर्नेछिन् ।
यो सिनेमालाई आउँदो वर्षको दशैंमा रिलिज गर्ने घोषणा गरिएको छ ।