तपाई दशैंमा पारिवारिक कथामा बनेका फिल्म हेर्न चाहनुहुन्छ भने तपाइका लागि ‘माइतीघर’ बलियो आधार भन्न सक्छ ।
असोजको १३ गते फूलपातीको दिनबाट रिलिजमा आउन लागेको यो फिल्मलाई चलचित्र जाँच पास समितीले ‘यूनिभर्सल’ सर्टिफिकेट दिएको छ ।
अब, यो फिल्मलाई सबै बर्गका दर्शकले हेर्न पाउनेछन् । दशैंको फूलपातिको अवसर पारेर रिलिजमा आउन लागेको यो फिल्मले व्यापारिक रुपमा सुखद ओपनिङ गर्ने अपेक्षा गरिएको छ ।
सेन्सर बोर्डमा फिल्म हेरेपछि यसको कथावस्तु, प्रस्तुति र कलाकारहरुको बिषयमा कुराकानी समेत भएको थियो । सेन्सरका अधिकांश कर्मचारीहरुले लामो समयपछि एउटा उत्कृष्ट पारिवारिक फिल्म हेर्न पाएको बताएका थिए ।
फिल्म कमेडी, पारिवारिक र भावनासँग जोडिएको भन्दै सेन्सरका कर्मचारीहरुले तारिफ गरेको निर्माणपक्षले बताएको छ । फिल्मका निर्माता रोहित अधिकारीले पनि दर्शक यसपटक निराश नहुने बताउँदै आएका छन् ।
यो फिल्मको बुकिङ समेत खुलिसकेको छ । यो फिल्मले देशभरका हलमा सय बढी शोज पाइसकेको छ । अझैपनि केही हलमा शोज खुल्न बाँकी नै छ ।
फिल्मलाई बिहान सवा ५ बजेदेखि बेलुकीसम्म अधिकांश हलले शोज दिएका छन् । जसकाकारण, दर्शक फिल्मप्रति आशावादी र प्रतिक्षामा रहेको वुझ्न सकिन्छ । फिल्मको ट्रेलर र शीर्ष गीतले दर्शकको ध्यान तानिसकेको छ । यो फिल्मले देशभर करिब डेढ सय शोज पाउने देखिएको छ ।
फिल्ममा केदार प्रसाद घिमिरे, धिरज मगर, प्रकाश सपुत, उपासना सिंह ठकुरी, श्यामाश्री शेर्पा, युवराज लामा, वुद्दि तामाङ, शिशिर वाङ्देल लगायतका कलाकारहरुको अभिनय छ ।
रामशरण पाठकले लेखेको यो फिल्मको कथावस्तुलाई दर्शकले मन पराउने र बलियो वर्ड अफ माउथ आउने अपेक्षा गरिएको छ ।
फिल्मका मुख्य कलाकारहरुले पनि यो फिल्मले दर्शकलाई हसाउँदा हसाउँदै रुवाउने बताएका छन् । फिल्मका मुख्य कलाकारहरु धिरज मगर, केदार प्रसाद घिमिरे र उपासना सिंह ठकुरीले फिल्मको छायांकनका क्रममा क्लाइमेक्समा आफूहरु रोएको बताए ।
उनीहरुले, फिल्मको क्लाइमेक्समा उपस्थित ५ सय बढी मानिसहरु रुँदा फिल्मको छायांकन नै प्रभावित भएको बताएका थिए । फिल्मको पटकथा बलियोसँग बाँधिएकाले दर्शकले कही कतै पनि निराश हुन नपर्ने उनीहरुको भनाई छ ।