‘तक्मे प्रोडक्सन’ को ब्यानरमा निर्माण भइरहेको चलचित्र ‘मैझारो’ आगामी कात्तिक ७ गतेबाट प्रदर्शनमा आउने भएको छ । बिहीबार चलचित्रको दुई पोस्टर सार्वजनिक गर्दै कात्तिक ७ गतेलाई प्रदर्शन घोषणा गरेको हो।
सार्वजनिक पोस्टर मध्ये पहिलो पोस्टरमा मुख्य कलाकार धिरज मगर, मिरुना मगर र दिया पुन देखिएका छन्। धिरज र मिरुनाले राई समुदायको पहिरनमा लसहितको दृश्य दिएका छन् भने दिया पुन लिम्बू समुदायको ढाका साडीमा प्रस्तुत भएकी छन्। पोस्टरले फिल्म त्रिकोणात्मक प्रेम कथामा आधारित रहेको संकेत गर्छ।
दोस्रो पोस्टरमा धिरज र मिरुना प्रेमिल मुद्रामा फलैँचामा बसेका छन्। धिरजले बन्चरो समातेका छन् भने मिरुना कुर्ता–सुरुवालमा उनीतर्फ नजर लगाइरहेकी छन्, जसबाट उनीहरूबीचको प्रेम सम्बन्ध प्रस्ट हुने देखिन्छ।
विल्सन विक्रम राईको कथा तथा निर्देशनमा बनेको चलचित्रमा धिरज, मिरुना र दियासँगै बुद्धि तामाङ, सुनिल थापा, पुस्कर गुरुङ, अभयराज बराल, माउत्से गुरुङ, कविता आले, रजनी गुरुङ, प्रेम सुब्बा, उदय सुब्बा, अनिल सुब्बा, भूपेन्द्र लिङदेन र विशाल लिम्बुको अभिनय रहेको छ।
सौरभ लामाले खिचेको यो चलचित्रमा अनमोल गुरुङ र तोरेम्पाहाङ राईको संगीत, मित्र डी गुरुङको सम्पादन, राजेशपायल राई, झुमा लिम्बू, मेलिना राई अस्मिता अधिकारी र अनमोल गुरुङको गीत समावेश छन्।