‘रिमै’ नेपाली फिल्म उद्योगका लागि एउटा दस्तावेज : दायहाङ

१७ भदौ २०८२ ४:२७

यहि भदौ २० गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘रिमै’ टिम यतिवेला प्रचार प्रसारमा छन् । यसैबीच अभिनेता दयाहाङ राईले ‘रिमै’ नेपाली चलचित्र उद्योगका लागि एउटा दस्तावेज हुने बताएका छन् । गुरुङ समुदायको अध्ययन गर्ने व्यक्तिका लागि यो चलचित्र बलियो दस्तावेज हुने उनको भनाई छ ।

‘अहिले त यो चलचित्र बन्यो । अब प्रदर्शन हुन्छ । धेरैका लागि यो सामान्य प्रक्रिया हो,’ उनी भन्छन्, ‘तर, यो चलचित्र भोलिका लागि एउटा बलियो दस्तावेज हुनेछ । भोलिको पुस्ताले गुरुङ सुमदायको अध्ययन गर्नुप¥यो भने यो एउटा बलियो दस्तावेज हुनेछ ।’

‘फरक भूगोलमा बस्ने गुरुङ समुदायको फरक संस्कार र संस्कृति होला । गोरखा र लमजुङमा बोलिने गुरुङ भाषा नै केही फरक छ,’ उनले भने, ‘गोरखाको माथिल्लो बेल्टमा बस्ने गुरुङ समुदायबारे बुझ्नु प¥यो भने यो चलचित्र एउटा गतिलो दस्तावेज हुनेछ ।’

‘रिमै’को अर्थ छोरी–चेली भन्ने हो । तर, यसलाई अलि रुखो तरिकाले बुझ्दा तरुनी भन्ने पनि हो । त्यसैले गुरुङ समुदायमा कसैले केटीलाई जिस्काएर ‘रिमै’ भन्यो भने त्यो छोरी वा चेली नभएर तरुनी भन्ने हो ।

यो चलचित्र की ‘रिमै’ अर्थात् अभिनेत्री रिश्मा गुरुङ आफ्नो समुदायमा छोरी सबैभन्दा केन्द्रमा हुने बताउँछिन् । ‘अरु समुदायमा बाबु वा आमाको मृत्यु हुँदा अन्तिम संस्कार गर्न छोरा चाहिन्छ, छोरी नभए पनि हुन्छ,’ रिश्मा भन्छिन्, ‘तर, हाम्रो गुरुङ जातिमा शव उठाउन छोरा नभए पनि हुन्छ तर छोरी अनिवार्य चाहिन्छ । छोरी नभएसम्म घरबाट लास उठाउँनै मिल्दैन ।

त्यसैले गुरुङ जातिमा छोराभन्दा छोरीको महत्व कति धेरै छ, त्यो ‘रिमै’मा देख्न सकिने उनले बताइन् । गुरुङ समुदायको कथामा बनेको बलियो चलचित्र भएकैले आफूले यसमा काम गरेको रिश्माले बताइन् । रिश्मा गुरुङ भाषाकै चलचित्रबाट मेनस्ट्रिममा आएकी कलाकार हुन् ।

दायहाङ विस्तारै विभिन्न समुदायका कथाहरू चलचित्रमा आउन थालेको बताए । विभिन्न जाति र भूगोलका कथाले नै नेपाली चलचित्रलाई समृद्ध बनाउँदै जाने भन्दै उनले भने, ‘रिमैले नेपाली चलचित्रमा एउटा आयाम लिएर आएको छ । किन भने यसअघि गुरुङ भाषामा त गुरुङका कथामा चलचित्र बनेका छन् । तर, नेपाली भाषामा मेनस्ट्रिममा यस्ता गुरुङको कथामा चलचित्र बनेका छैनन् ।’

गोरखा सिरानचोक एण्ड लिगलिगकोट फिल्मस् प्रालीको प्रस्तुति र रोटेपिङ इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भएको चलचित्रमा दयाहाङ राई, अर्पण थापा, रिस्मा गुरुङ, गौमाया गुरुङ, कविता आले मगर, माओत्से गुरुङ, पुस्कर गुरुङ, वीरमाया गुरुङ, वीरवल घले, डिवी गुरुङ, टेक गुरुङ र बालकलाकार असिम सुब्बा, प्रेस्टु गुरुङ र प्रश्ना राना मगर लगायतको पनि अभिनय रहेको छ ।

खिल बहादुर गुरुङको निर्देशनमा निर्माण भएको चलचित्रमा कवि तथा निर्देशक उपेन्द्र सुब्बाको पटकथा लेखन, शैलेन्द्र ध्वज कार्कीको डीओपि, वीरवल घले कार्यकारी निर्माता, टिका गुरुङ, जित यात्री गुरुङ र दुन बहादुर घले निर्माता तथा बिनु गुरुङ, रोशन भट्टराई र राजेश घिमिरे सह–निर्मातामा छन् । चलचित्रमा मित्र डि गुरुङको सम्पादन रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *