आगामी असोज ३१ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने चलचित्र ‘जेरी अन टप’ को टिजरले उत्कृष्ट प्रतिक्रिया पाएको छ । गत सोमबार सार्वजनिक भएको टिजरलाई हालसम्म १५ लाख बढिले हेरेका छन् भने चर्चा पनि राम्रै बटुलिरहेको छ।
युट्यूवमा ‘जेरी अन टप’ टिजर नेपालमा सर्वाधिक चर्चा पाउने चलचित्र ट्रेलरको ट्रेण्डिङ सूचीमा शीर्ष स्थान कायम गर्न सफल भएको छ भने अन्य दर्जनबढि देशमा यो चलचित्रको टिजरले ‘मुभिज ट्रेन्डिङ चार्ड’ तर्फ अग्र स्थान ओगटेको छ । विदेशका यो चलचित्रको टिजरप्रति देखिएको क्रेजले अन्तर्राष्ट्रिय व्यापारमा सुखद संकेत गर्छ ।
युट्यूव, इन्स्टाग्राम र फेसबुक लगायतका सामाजिक सञ्जालमा सार्वजनिक दर्जनौँ टिजर रिभ्यू र रियाक्सन भिडियोमा यो चलचित्र बहु–प्रतिक्षितका शब्दहरू व्यक्त भएका छन् । सगरमाथा आरोहणको कथा जोडिएको यो चलचित्रमा समावेश दृश्यहरू, कलाकारको अभिनय कला, व्याकग्राउण्ड म्युजिक, भिएफएक्स लगायतको पाटोलाई दर्शकले उच्च प्रशंसा गरेका छन् ।
सरोज न्यौपानेको प्रस्तुति र सुयोग गुरुङको निर्देशनमा तयार भएको यो चलचित्रमा अभिनेता अनमोल केसी, अभिनेत्रीद्वय आँचल शर्मा, जसीता गुरुङ, केदार घिमिरे ‘माग्नेबुढा’, भुवन केसी, उषा उप्रेती, सुरक्षा पन्त लगायतका कलाकार शीर्ष अभिनयमा छन् । अभिनेता अनमोलले दर्शक तथा शुभचिन्तकबाट प्राप्त प्रेममा खुशी साट्दै धन्यवाद ज्ञापन गरेका छन् ।
महंगो लागत र फ्रण्टलाइनर स्टारकास्ट समावेश यो चलचित्रको कथा हेमराज बिसीको हो ।चलचित्रमा कालिप्रसाद बाँस्कोटा, जयन जे वाइबा, जोहन चाम्लिङ राई र व्रिजेश श्रेष्ठको संगीत, विस्वास तिम्सिनाको पटकथा रहँदा दुलिप रेग्मीको छायांकन छ ।